काठमाडौं– वाणिज्य बैंकहरूले जेठ महिनाका लागि पनि निक्षेपको ब्याजदर घटाएका छन्।
बैंकिङ प्रणालीमा उच्च तरलता कायम रहनु र कर्जा प्रवाह अपेक्षाअनुसार बढ्न नसक्नुका कारण ब्याजदर निरन्तर ओरालो लागेको हो।
बैंकहरूले प्रत्येक महिनाको अन्तिम दिन आगामी महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गर्ने अभ्यासअनुसार बिहीबार जेठ महिनाको ब्याजदर सूची सार्वजनिक गरेका हुन्।
वैशाखको तुलनामा जेठमा सात वटा वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने १३ बैंकले पुरानै दर कायम राखेका छन्। केही बैंकले दर घटाएपछि समग्र औसत ब्याजदर भने थप घटेको देखिएको छ।
नेपाल राष्ट्र बैंकका तथ्यांकअनुसार वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर औसत वैशाखमा ४.४०२५ प्रतिशत रहेको थियो। जेठमा यो घटेर ४.३४३ प्रतिशतमा पुगेको छ। औसत ब्याजदर ०.०५९५ प्रतिशत बिन्दुले घटेको हो।
हाल अधिकांश बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ४ देखि साढे ४ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेका छन्। तर यो दर चैत महिनाको उपभोक्ता मुद्रास्फितिभन्दा समेत कम देखिएको छ। राष्ट्र बैंकका अनुसार चैत महिनाको उपभोक्ता मुद्रास्फिति दर ४.४७ प्रतिशत रहेको थियो। मुद्दती निक्षेपको अधिकतम ब्याजदर नै मुद्रास्फितिभन्दा तल झरेपछि बैंकिङ प्रणाली र बचतकर्ताको प्रतिफलमाथि प्रश्न उठ्न थालेको छ।
बैंकहरूमा लगानीयोग्य रकम पर्याप्त भए पनि कर्जा माग कमजोर रहँदा निक्षेपको ब्याजदर घटिरहेको बैंकर्सहरूको भनाइ छ। कर्जा विस्तार सुस्त हुँदा बैंकहरू अतिरिक्त तरलताको दबाबमा छन्।
जेठ महिनामा ब्याजदर घटाउने बैंकहरूमा सिटिजन्स, हिमालयन, कुमारी, नेपाल बैंक, एनआईसी एसिया, एनएमबी र स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेका छन्। यस्तै कृषि विकास, एभरेस्ट, ग्लोबल आईएमई, नेपाल इन्भेस्टमेन्ट मेगा, लक्ष्मी सनराइज, माछापुच्छ्रे, नबिल, नेपाल एसबीआई, प्राइम कमर्सियल, प्रभु, राष्ट्रिय वाणिज्य, सानिमा र सिद्धार्थ बैंकले भने पुरानै ब्याजदर कायम राखेका छन्।
व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घट्दा त्यसको प्रभाव बचत खाता र संस्थागत मुद्दती निक्षेपमा समेत पर्ने गर्छ। निक्षेपको लागत घटेपछि बैंकहरूको आधार दर घट्ने र त्यसले कर्जाको ब्याजदरमा पनि कमी ल्याउने अवस्था बन्छ।
जेठ महिनामा कुनै पनि वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ४.८ प्रतिशतभन्दा बढी ब्याजदर प्रस्ताव गरेका छैनन्। सबैभन्दा बढी ब्याजदर एनएमबी बैंकले ४.८० प्रतिशत तोकेको छ। तर उक्त ब्याजदर पाँच वर्ष वा सोभन्दा बढी अवधिको व्यक्तिगत मुद्दती निक्षेपमा मात्र लागू हुने बैंकले जनाएको छ।
बैंकहरूले छोटो अवधिका मुद्दती निक्षेपमा कम र लामो अवधिका निक्षेपमा तुलनात्मक रूपमा बढी ब्याज दिने गरेका छन्। अहिले सार्वजनिक गरिएका अधिकतम ब्याजदरहरू पनि दीर्घकालीन निक्षेप योजनाका लागि हुन्।
यता नेपाल राष्ट्र बैंकले पनि पछिल्लो समय वित्तीय प्रणालीबाट तरलता खिच्ने नीति अघि बढाइरहेको छ। अन्तरबैंक ब्याजदर व्यवस्थापन तथा बजारमा तरलता सन्तुलन कायम गर्न राष्ट्र बैंकले बोन्ड, स्थायी निक्षेप सुविधा लगायत उपकरण प्रयोग गर्दै बैंकहरूबाट रकम संकलन गरिरहेको छ।
व्यक्तिगत मुद्दतीमा वैशाख र जेठको अधिकतम ब्याजदर
| बैंक | वैशाखको ब्याजदर % | जेठको ब्याजदर % |
| कृषि विकास | ४.१५ | ४.१५ |
| सिटिजन्स | ४.१५ | ४.१० |
| एभरेस्ट | ४.०५ | ४.०५ |
| ग्लोबल आईएमई | ४.५० | ४.५० |
| हिमालयन | ४.५० | ४.२५ |
| इन्भेस्टमेन्ट मेगा | ४.५० | ४.५० |
| कुमारी | ४.०५ | ३.९६ |
| लक्ष्मी सनराइज | ४.५० | ४.५० |
| माछापुच्छ्रे | ४.५० | ४.५० |
| नबिल | ४.५५ | ४.५५ |
| नेपाल | ४.५० | ४.२५ |
| नेपाल एसबीआई | ४.२५ | ४.२५ |
| एनआईसी एसिया | ४.७५ | ४.५० |
| एनएमबी | ५.०० | ४.८० |
| प्राइम कमर्सियल | ४.१५ | ४.१५ |
| प्रभु | ४.५५ | ४.५५ |
| राष्ट्रिय वाणिज्य | ४.७५ | ४.७५ |
| सानिमा | ४.५० | ४.५० |
| सिद्धार्थ | ४.०५ | ४.०५ |
| स्ट्यान्डर्ड चार्टर्ड | ४.१० | ४.०० |
प्रतिक्रिया