काठमाडौं- गृहमन्त्री सुधन गुरुङले आफूले विभिन्न सेयर बजारमा गरेको लगानीको स्रोत ऋणबाट जुटाएको स्पष्टीकरण दिएका छन् ।
विवादित पृष्ठभूमिका व्यवसायीसँग आफ्नो साँठगाँठबारे विभिन्न मिडियामा उठेका प्रश्नको जवाफ दिँदै उनले बैंकबाट गएको पैसाको हिसाब सबै देखिने बताएका छन् ।
‘बैंकबाट गएको पैसाको सबै हिसाब हुन्छ । कहिले गयो, कहाँ गयो, कसलाई गयो सबै देखिन्छ। यस्तो हिसाब हुने पैसा कसरी लुकाउने ? कहाँ लुकाउने ?,’ उनले भनेका छन् ।
साथै, लगानीको स्रोतमाथि उठेका प्रश्नबारे स्पष्टीकरण दिँदै उनले विसं २०८० भदौ २९ गतेको लिखित तमसुक रेकर्डमा रहेको उल्लेख गरेका छन् ।
‘अब स्रोतको कुरा, मैले लगानी गरेको रकम ऋण (कर्जा) मार्फत जुटाइएको हो, र त्यसको लिखित तमसुक मिति २०८०/०५/२९ को हो, जुन रेकर्डमा नै छ,’ गुरुङले भनेका छन्, ‘उक्त तमसुकअनुसार ऋण लिइएको रकम बैंकिङ च्यानलमार्फत आएको छ र सोही रकम लगानीमा प्रयोग गरिएको हो ।’
आफ्नो रकमको विषय अनुमानको नभइ कागज र बैंक रेकर्डले प्रमाणित गर्ने विषय भएको उनको तर्क छ ।
‘अर्थात्, पैसा कहाँबाट आयो भन्ने कुरा अनुमानको होइन, कागज र बैंक रेकर्डले प्रमाणित गर्ने विषय हो,’ गुरुङले भनेका छन् ।
प्रतिक्रिया