काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद् पुनर्स्थापनाका लागि दौडधुप भइरहेको भन्ने सूचना आफूले पाएको भन्दै त्यसप्रति कडा प्रतिक्रिया दिएका छन्।
उनले यस्तो प्रयासलाई षड्यन्त्रको रूपमा चित्रण गर्दै ‘षड्यन्त्रको आँखा बन्द गर्न’ आग्रह गरेका छन्।
आइतबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा पुगेका लामिछानेले संसद् पुनर्स्थापनाबारे भइरहेको चर्चा र गतिविधिप्रति प्रश्न उठाए। उनले भने, ‘म सुनिरहेको छु, संसद् पुनर्स्थापनाका लागि दौडधुप गर्न थाले रे। कुन संसद् पुनर्स्थापनाको कुरा गर्न लाग्नुभएको ? कुन संसद् ब्युँझाउन खोज्नुभएको ? जनताका मुद्दा राख्दाराख्दै माइक काट्ने संसद् ब्युँझाउन खोज्नुभएको ?’ भन्दै आक्रोश व्यक्त गरे। उनले थप भने, ‘षड्यन्त्रको आँखा बन्द गर्नुहोला, धेरै आँखा नचम्काउनुहोला।’

लामिछानेले अहिलेको अवस्थामा केवल सिंहदरबार भत्किएको संरचना पुनःनिर्माण गरेर मात्र नपुग्ने भन्दै प्रणाली नै बदल्नुपर्ने आवश्यकता औँल्याए। उनका अनुसार राज्य संयन्त्रमा मौलिक सुधार र राजनीतिक संस्कारको परिवर्तन अपरिहार्य भइसकेको छ।
यसैबीच सभापति लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा भव्य स्वागत गरेका छन्। केन्द्रीय कार्यालयमा कार्यकर्ताको उपस्थितिमा उनलाई बाजागाजासहित स्वागत गरिएको थियाे।
भैरहवा कारागारबाट रिहा भएर शनिबार मात्रै काठमाडौं फर्किएका लामिछानेलाई आज औपचारिक रूपमा पार्टी कार्यालयमा स्वागत गरिएको हाे।
उनको आगमनसँगै रास्वपाभित्र आगामी राजनीतिक रणनीति, संसद् र सरकारसम्बन्धी धारणा तथा संगठनात्मक गतिविधिबारे छलफल हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया