+
Search

ताजा अपडेट +

पपुलर +

उपसभामुखलाई हटाउने काँग्रेस-एमालेको तयारीलाई असफल पार्ने विपक्षी दलहरूको निर्णय

पालिका लाइभ
२०८२ भाद्र ३, मंगलवार

काठमाडौं– प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आह्वानमा मंगलबार बसेको प्रतिपक्षी दलहरूको बैठकले उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउन सत्तारूढ नेपाली कांग्रेस र एमालेले गरेको तयारीलाई असफल बनाउने निर्णय गरेको छ।

आचरणमाथि प्रश्न उठाउँदै काँग्रेस र एमालेले उपसभामुखलाई हटाउने तयारी गरेका छन्। त्यसका लागि मंगलबार काँग्रेस र एमालेले आफ्ना सांसदहरूको हस्ताक्षर गराएका छन् भने सरकारमा रहेका र सरकारबाहिर रहेका साना दलहरूसँग छलफलसमेत गरेका छन्।

उपसभामुख मगरले भिजिट भिसासम्बन्धी अन्तर्वार्ताको समय सारिदिन आग्रह गर्दै लेटरप्याडमा अमेरिकी दूतावासलाई पत्र लेखेको विषय गत वर्ष बाहिरिएको थियो।

अहिले कांग्रेस र एमाले उपसभामुखलाई पदबाट हटाउने तयारी गर्दैछन्। ६ सदस्यीय संवैधानिक परिषदमा उपसभामुख पनि रहने व्यवस्था छ। संवैधानिक परिषदमा सत्तापक्ष र प्रतिपक्षीको मत बराबर छ। त्यसैले निर्वाचन आयोग लगायतमा नियुक्ति हुन सकेको छैन।

प्रतिपक्षी दलहरूको बैठकपछि माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले काँग्रेस र एमालेले आफ्ना सांसदहरूलाई खाली कागजमा हस्ताक्षर गर्न लगाएको घटनाले उनीहरूको निरंकुशतालाई नांगो बनाएको बताए।

यो र यस्ता कदमले देशलाई गम्भीर नकारात्मक दिशामा धकेलिरहेको छ र संकटग्रस्त बनाउँदै लगेको दाबी उनको छ।

प्रतिपक्षी दलहरूको बैठकमा माओवादी, रास्वपा, राप्रपा, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, आम जनता पार्टी सहभागी थिए। विपक्षी दल नाउपा र जसपा नेपाल भने सत्तापक्षीय बैठकमा पुगेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ