काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले भ्रष्टाचारविरुद्ध चासो नदिएको आरोप लगाउँदै मन्त्री क्वार्टरसम्म बिचौलियाले घुस पुर्याउने गरेको दाबी गरेका छन्।
फेसबुकमार्फत तीव्र व्यंग्य गरेका कोइरालाले सरकारका मन्त्रीहरू घुससम्बन्धी विवादमा मुछिँदा पनि प्रधानमन्त्री उनीहरूलाई पदबाट हटाउन असमर्थ देखिएको टिप्पणी गरेका छन्।
‘यस्तै रहेछ यहाँको चलन,’ भन्दै कोइरालाले लेखेका छन्, ‘मन्त्रीक्वाटरमा बिहानै आएर बिचौलियाले घुसको ब्रिफकेस छाड्छन्। आफ्नो विरुद्धमा प्रमाण जुटेपछि बर्खास्त हुनुपर्नेमा प्रधानमन्त्रीसँग मिठा कुरा गरेर मन्त्रिपरिषद् बैठकमा भाग लिन्छन्।’
उनले सत्ता गठबन्धनभित्रको कमजोरी मात्र होइन, विपक्षी दलहरूको भूमिकालाई पनि कटाक्ष गरेका छन्।
संसदमा विपक्षी दलहरूले केवल औपचारिक रूपमा राजीनामा माग गर्ने मात्र काम गरिरहेको भन्दै उनले आफ्नो पार्टी कांग्रेसप्रति पनि असन्तुष्टि पोखेका छन्।
कोइरालाले लेखेका छन्, ‘सदनमा विपक्षी कर्मकाण्डी राजीनामा माग्छन् तथा गठबन्धनका सहयात्री हामी कांग्रेस भने ‘साक्षी किनाराका सदर’ भएका छौँ।’
उनको यो टिप्पणीले सत्तासीन दलभित्रको असन्तोष मात्रै होइन, शासन प्रणालीप्रति गहिरो प्रश्न पनि उठाएको छ।
प्रतिक्रिया