काठमाडौं– नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान सरकारले राष्ट्रिय गौरवको आयोजना बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको हत्या गरेको आरोप लगाउँदै यसको प्रतिवादमा उत्रिन प्रभावित क्षेत्रका बासिन्दासँगै सबै सचेत नागरिकसँग अपिल गरेका छन्।
२०७४ जेठमा तत्कालीन प्रचण्ड सरकारले घाँटी रेट्न सुरु गरेको र अहिले ओली सरकारले २०८२/०८३ को बजेटमार्फत त्यसको हत्या गरेको दाबी भट्टराईले गरेका हुन्।
यो देश र जनतामाथि अक्षम्य अपराध र धोका भएको उल्लेख गर्दै उनले देशको बहुआयामिक आर्थिक रूपान्तरणका लागि गेमचेन्जर आयोजनाका रूपमा यसको प्रमुख परिकल्पनाकार र पहलकर्ताका नाताले यो सरासर बदनियत पूर्ण, जनविरोधी र राष्ट्रघाती निर्णय भएको बताएका छन्।
‘अन्ततः राष्ट्रिय गौरवको बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको हत्या भएको छ’, भट्टराईले शनिवार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘२०७४ जेठमा तत्कालीन प्रचण्ड सरकारद्वारा तरबार चलाएर घाँटी रेट्न सुरु गरिएको यो राष्ट्रिय सपनाको आयोजनालाई अहिले ओली सरकारले २०८२/०८३ को बजेट-वक्तव्य (बुँदा २२४) मार्फत कथित “सार्वजनिक निजी साझेदारीमा निर्माण गरिनेछ” भनेर पूरै घाँटी छिनालेको छ।’
यसको माग गर्ने गोरखा र धादिङका प्रभावित क्षेत्रका जनताप्रति सहानुभूति र ऐक्यबद्धता जनाउँदै उनले अगाडि लेखेका छन्, ‘यो राष्ट्रिय विश्वासघात र अपराधपूर्ण निर्णयको सशक्त प्रतिवाद गर्न म प्रभावित क्षेत्रका जनता र सबै सचेत नागरिकहरूसँग हार्दिक अपिल गर्दछु।’
प्रतिक्रिया