+
Search

ताजा अपडेट +

पपुलर +

बाढीले बगाएको गल्छीको जीवन : राहतभन्दा ठूलो चिन्ता पुनःस्थापना

३२६ परिवार प्रभावित, ५२ घर पूर्ण ध्वस्त; पुल, खानेपानी र कृषिमा ठूलो क्षति

पालिका लाइभ
२०८३ भाद्र २२, सोमबार

धादिङ– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले धादिङको गल्छी गाउँपालिकामा घर मात्रै बगाएन, धेरै परिवारको वर्षौंको मेहनत र जीविकोपार्जनको आधारसमेत खोसिदिएको छ। बाढीबाट ३२६ परिवार प्रभावित भएका छन् भने ५२ वटा निजी घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।

अहिले प्रभावित परिवारलाई तत्कालको राहतसँगै भोलि कहाँ र कसरी बस्ने भन्ने चिन्ताले पिरोलेको छ।

सोमबार प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र सांसद बोधनारायण श्रेष्ठलगायतको उपस्थितिमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडाले बाढीबाट भएको क्षति, राहत वितरण र पुनः स्थापनाका प्रयासबारे जानकारी गराए।

गाउँपालिकाका अनुसार बाढीबाट वडा नं. ६ मा मात्रै ४१ वटा घर पूर्ण रूपमा क्षति भएका छन्। वडा नं. ८ मा ३ र वडा नं. १ मा २ वटा घर पूर्ण रूपमा क्षति भएका छन्। थप १३६ घरमा आंशिक क्षति पुगेको छ। बाढीका कारण १३८ भाडामा बस्ने परिवारसमेत विस्थापित भएका छन्।

गल्छीमा प्रत्यक्ष मानवीय क्षति नभए पनि रसुवामा रोजगारी तथा सवारी चालकका रूपमा पुगेका गाउँपालिकाका १० जना नागरिक बाढीपछि बेपत्ता भएका थिए। तीमध्ये दुई जनाको शव फेला परी सनाखत भइसकेको छ भने आठ जना अझै बेपत्ता छन्।

बाढीले घर र निजी सम्पत्तिसँगै गाउँपालिकाका सार्वजनिक पूर्वाधारमा पनि ठूलो क्षति पुर्‍याएको छ। डेढतले पक्की भवन र १८ कोठे प्रिफ्याब भवन ध्वस्त भएका छन्। छागेश्वर मन्दिर परिसरका दुई सामुदायिक भवन, दुई सामुदायिक विद्यालय र एउटा निजी विद्यालयमा क्षति पुगेको गाउँपालिकाले जनाएको छ।

यातायात पूर्वाधारतर्फ चार वटा पक्की पुल र १० वटा झोलुङ्गे पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। थप दुई वटा झोलुङ्गे पुलमा आंशिक क्षति पुगेको छ। पुल तथा सडकमा भएको क्षतिले प्रभावित क्षेत्रको आवागमनमा समेत समस्या थपिएको छ।

खानेपानीका आयोजनासमेत बाढीको चपेटामा परेका छन्। वडा नं. ६ का चार वटा र वडा नं. १ को एउटा खानेपानी आयोजनामा क्षति पुगेपछि २६० घरधुरी खानेपानीको समस्यामा परेका छन्।

बाढीको असर खेतबारीसम्म पुगेको छ। भदौ १०, १२ र १४ गते आएको बाढीले वडा नं. १ मा २५८ रोपनी, वडा नं. २ मा २८ रोपनी, वडा नं. ४ मा ४५ रोपनी र वडा नं. ६ मा ३८ रोपनी कृषियोग्य जमिन तथा बालीमा क्षति र कटान भएको गाउँपालिकाले जनाएको छ।

यससँगै अमलेश्वर र छागेश्वर मन्दिर संरक्षण क्षेत्र, चार सार्वजनिक शौचालय, दुई खेलमैदान, दुई बाल उद्यान, शवदाहस्थललगायत १५ वटा मठमन्दिर तथा ट्रस्टमा पनि क्षति पुगेको छ।

बाढीपछि गाउँपालिकाले तत्काल राहत वितरणलाई प्राथमिकता दिएको छ। भदौ १० गते बसेको आपत्कालीन बैठकले प्रभावित परिवारलाई १० हजार रुपैयाँका दरले नगद राहत दिने निर्णय गरेको थियो। सोअनुसार हालसम्म ६५ परिवारलाई राहत रकम वितरण गरिएको अध्यक्ष खतिवडाले बताए। बाढीमा ज्यान गुमाएका दुई जनाका परिवारलाई प्रतिपरिवार २५ हजार रुपैयाँका दरले राहत उपलब्ध गराइएको छ।

विस्थापित परिवारलाई अस्थायी रूपमा राख्न वडा नं. ४ र ७ मा होल्डिङ सेन्टर सञ्चालन गरिएको छ। गाउँपालिकाका अनुसार विभिन्न सरकारी, गैरसरकारी तथा सहयोगी संस्थाबाट प्राप्त राहत सामग्री पनि प्रभावित परिवारसम्म पुर्‍याइएको छ।

चुजी फाउन्डेसन, वर्ल्ड फुड प्रोग्राम, रेडक्रस, रोटरी क्लबलगायतबाट प्राप्त सहयोगमा बाढीपीडित परिवारलाई चामल, ग्यास चुलो, भाँडाकुँडा, लत्ताकपडा तथा बिस्तारालगायत सामग्री उपलब्ध गराइएको छ। वर्ल्ड फुड प्रोग्रामको प्रतिबद्धतासहित प्राप्त खाद्यान्न तथा अन्य सामग्रीबाट करिब पाँच महिनासम्म खान पुग्ने व्यवस्था भएको अध्यक्ष खतिवडाले जानकारी दिए।

राहतसँगै गाउँपालिकाले क्षतिग्रस्त संरचना पुनः सञ्चालनका लागि पनि काम अघि बढाएको छ। बाढीले गाउँपालिकाको १५ शय्याको अस्पतालका मेसिनरी तथा उपकरणमा ठूलो क्षति पुर्‍याएको थियो। अहिले अस्पतालको सरसफाइ सम्पन्न भइसकेको छ भने चुजी फाउन्डेसनको सहयोगमा आवश्यक यन्त्र तथा उपकरण आउन थालेका छन्।

फाउन्डेसनकै सहयोगमा आयुर्वेद अस्पताल र विद्यालय सञ्चालनका लागि आवश्यक सामग्रीसमेत उपलब्ध भइरहेको गाउँपालिकाले जनाएको छ। विस्थापित परिवारका लागि नमुना निजी घर निर्माणको कामसमेत सुरु भएको अध्यक्ष खतिवडाले बताए।

बाढीपछि अस्पताल तथा विद्यालय सरसफाइमा ठूलो संख्यामा स्वयंसेवक परिचालन भएका थिए। प्रभावित क्षेत्रमा सहयोग पुर्‍याउने दाता, संस्था तथा स्वयंसेवकप्रति अध्यक्ष खतिवडाले धन्यवाद व्यक्त गरे।

तर गाउँपालिकाका लागि अबको सबैभन्दा ठूलो प्रश्न राहत वितरणभन्दा बाहिर छ। घर र सम्पत्ति गुमाएका परिवारलाई दीर्घकालीन रूपमा कहाँ र कसरी बसाल्ने भन्ने चुनौती थपिएको छ। बाढीले क्षति पुर्‍याएको स्थानमा पुनः घर बनाउन सकिने अवस्था नभएका परिवारका लागि सुरक्षित स्थानमा पुनः स्थापना आवश्यक रहेको गाउँपालिकाको भनाइ छ।

अध्यक्ष खतिवडाले संघीय सरकारसँग विस्थापित नागरिकको सुरक्षित स्थानान्तरण र दीर्घकालीन बसोबासका लागि आवश्यक कार्यक्रम ल्याउन आग्रह गरेका छन्।

‘धेरै मान्छेले जिन्दगीभर कमाएर बनाएको घर र सम्पत्ति बगेको छ। त्यही ठाउँमा पुनः स्थापना गर्न सकिने अवस्था छैन। नागरिकले आफ्नै खर्चमा तत्काल घर बनाउन सक्ने अवस्था पनि छैन,’ उनले भने।

तत्कालको राहतले प्रभावित परिवारको हात थामे पनि उनीहरूको दीर्घकालीन जीवन कसरी अघि बढ्छ भन्ने प्रश्न भने अझै बाँकी छ। त्यसैले गल्छीका लागि अबको चुनौती बाढीले पुर्‍याएको क्षति गन्नु मात्र होइन, विस्थापित परिवारलाई सुरक्षित र स्थायी रूपमा पुनः स्थापित गर्नु पनि हो।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ