+
Search

ताजा अपडेट +

पपुलर +

तीन दशकपछि ठुलो आँट गरेर करका दर परिवर्तन गरियो : अर्थमन्त्री वाग्ले

पालिका लाइभ
२०८३ जेष्ठ २३, शनिबार

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले तीन दशकपछि ठुलो आँट गरेर र जोखिम मोलेर करका दर परिवर्तनको निर्णय गरिएको बताएका छन्।

शुक्रवार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री वाग्लेले लगानीकर्ताको प्रोत्साहन र अर्थतन्त्र सुधारको उद्देश्यले जोखिम उठाएको बताएका हुन्।

अर्थतन्त्रलाई गति दिएर एक सय अर्ब डलरको अर्थतन्त्र बनाउने उद्देश्य हासिल गर्ने गरी बजेट बनाइएको उनले बताए। उनले भने, ‘पञ्चवर्षीय बजेटको पहिलो किस्ताको रूपमा यस वर्षको बजेट आएको छ। पाँच/सात वर्षमा अर्थतन्त्रको आकार उपभोक्ता मूल्यमा १०० अर्ब डलरको बनाउने लक्ष्य राखेका छौँ। त्यो लक्ष्य हासिल हुने गरी बजेट बनाइएको छ।’

बजेटमा ठुलो मात्रामा राजस्वको लक्ष्य राखिएको र त्यसका लागि प्रधानमन्त्रीले ढाडस दिएको अर्थमन्त्री वाग्लेले बताए। ‘काठमाडौँको मेयर रहँदा चार अर्बको राजस्वलाई बढाएर १२ अर्ब पुर्‍याएको बताउँदै प्रधानमन्त्रीले राजस्व संकलन बढाउन सकिन्छ भन्ने ढाडस दिनुभयो। त्यसपछि हामीले आँट गरेर ठुलो मात्रामा राजस्वका लक्ष्य राखेका छौँ’, वाग्लेले भने।

राजस्वको लक्ष्य पूरा गर्न आन्तरिक राजस्व कार्यालयलाई पुर्न संरचना गर्ने र कर चुहावटमा ध्यान दिएर रोक्ने उनले बताए। आगामी दिनमा सानो आकारको अर्थतन्त्रमा अल्झिदा आर्थिक वृद्धि नहुने भएकाले ठुलो आर्थिक वृद्धिको लक्ष्य लिएको अर्थमन्त्रीको दाबी छ।

उनले भने, ‘हामीले लिएको लक्ष्य वास्तविक छ। यो हावादारी कुरा होइन। तर, आर्थिक वृद्धिका लागि निजी क्षेत्रको साथ चाहिन्छ। जोखिम मोलेर लगानी गर्ने निजी क्षेत्रले हो।’ आगामी आर्थिक वर्षको बजेट उद्योगी, व्यवसायीमैत्री बनाएको अर्थमन्त्रीको दाबी छ। उनले भने, ‘सीएनआईलाई नै बजेट लेख्न दिएको भए पनि यत्तिको व्यवसायीमैत्री बजेट बन्दैनथ्यो होला। यति ठुलो मात्रामा करको दर हेरफेर गर्न ठुलो राजनीतिक आँट चाहिन्छ। हामीले त्यो काम गरेका छौँ।’

परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले नीतिगत स्थिरता र कानुनी सुधारमार्फत १०० अर्ब डलरको अर्थतन्त्र निर्माण सम्भव रहेको बताएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ