काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज प्रधानमन्त्री पदको शपथ लिने तयारीमा छन्।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजना हुने समारोहमा बालेनसँगै मन्त्रिपरिषद् विस्तार गर्दै १६ जनासम्म मन्त्रीलाई पनि शपथ गराउने तयारी गरिएको छ।
रास्वपा स्रोतका अनुसार प्रधानमन्त्रीको शपथ लगत्तै मन्त्रीहरूको शपथ कार्यक्रम तय गरिएको छ। प्रारम्भिक चरणमै पूर्ण मन्त्रिपरिषद् निर्माण गर्ने रणनीतिअनुसार दलले प्रमुख मन्त्रालयहरूको जिम्मेवारी टुंगो लगाउने अन्तिम तयारी गरिरहेको छ।
मन्त्रिपरिषद्को अर्थमन्त्रीमा स्वर्णिम वाग्लेले सम्हाल्ने लगभग निश्चित भएको छ। उनलाई अर्थ मन्त्रालयको नेतृत्व दिइने बताइएको छ। त्यस्तै, शिशिर खनाललाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिने तयारी अन्तिम चरणमा पुगेको स्रोतको दाबी छ।
गृह मन्त्रालयको जिम्मेवारी सुदन गुरुङलाई दिने चर्चा तीव्र बनेको छ। यद्यपि, अन्तिम निर्णय भने औपचारिक घोषणा पश्चात् मात्रै स्पष्ट हुने बताइएको छ।
यससँगै सम्भावित मन्त्रीहरूको सूचीमा सोबिता गौतम, सुनिल लम्साल, अमरेश सिंह, सस्मित पोखरेल, प्रतिभा रावल र इन्दिरा राना लगायतका नामहरू छन्। उनीहरूलाई विभिन्न मन्त्रालयको जिम्मेवारीसहित शपथ गराउने तयारी भइरहेको जनाइएको छ।
यसबीच, रास्वपाले संघीय संसद्को सभामुख पदका लागि डिपी अर्याललाई अघि सार्ने संकेत दिएको छ। प्रारम्भमा उनको नाम गृह मन्त्रालयका लागि चर्चामा रहे पनि पछिल्लो समीकरणमा उनलाई सभामुख बनाउने रणनीति अघि बढाइएको बुझिएको छ।
मन्त्रीहरूको अन्तिम सूची टुंगो लगाउन पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बन्न लागेका बालेनबीच अन्तिम चरणको छलफल जारी रहेको छ। दलले आज बिहान १० बजेसम्म सबै नाम टुङ्ग्याएर नियुक्तिका लागि राष्ट्रपति कार्यालयमा पठाउने तयारी गरेको स्रोतको भनाइ छ।
नयाँ सरकार गठनसँगै प्रशासनिक स्थायित्व, आर्थिक सुधार र सुशासनको एजेन्डालाई अघि बढाउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया