काठमाडौं– बालेन्द्र शाह नेतृत्वमा नयाँ सरकार गठनसँगै सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रवेश व्यवस्थामा कडाइ गरिएको छ।
प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएपछि लागू गरिएको नयाँ व्यवस्थाअनुसार अब उक्त कार्यालय परिसरभित्र प्रवेश गर्न सचिवालयको अनुमति अनिवार्य गरिएको हो।
प्रधानमन्त्री शाहले राष्ट्रपतिसमक्ष शपथ लिएपछि सिंहदरबार पुगेर पदबहाली गरेका थिए। पदभार ग्रहणसँगै कार्यालय प्रवेशसम्बन्धी यसअघिको अभ्यास परिवर्तन गर्दै नयाँ व्यवस्था लागू गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार अबदेखि जोसुकैले पनि सोझै प्रधानमन्त्री कार्यालय परिसरमा प्रवेश गर्न पाउने व्यवस्था हटाइएको छ। प्रवेशका लागि अनिवार्य रूपमा प्रधानमन्त्रीको सचिवालयबाट पूर्वस्वीकृति लिनुपर्नेछ।
यसअघि नै प्रवेश व्यवस्थामा आंशिक कडाइ सुरु गरिएको थियो। अत्यावश्यक कामबाहेक अन्य व्यक्तिलाई कार्यालय परिसरमा प्रवेश निषेध गरिएको थियो भने अपरिहार्य अवस्थामा मुख्यसचिव वा सम्बन्धित सचिवको स्वीकृतिमा मात्रै प्रवेश दिइँदै आएको थियो।
नयाँ व्यवस्थासँगै अब प्रधानमन्त्री कार्यालयभित्रको आवतजावत पूर्ण रूपमा नियन्त्रणमा रहनेछ। प्रशासनिक अनुशासन र सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन यस्तो कदम चालिएको स्रोतको भनाइ छ।
प्रतिक्रिया