काठमाडाैं- झापा क्षेत्र नम्बर ५ मा गणना गर्न बाँकी मतभन्दा मतान्तर नै धेरै भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह औपचारिक घोषणाअघि नै विजयी हुने निश्चित भएको छ।
कुल १ लाख ६ हजार ३७२ मत खसेको यस क्षेत्रमा अहिले गणना गर्न बाँकी मत २४ हजार २५४ मात्रै रहेको छ।
हालसम्म सार्वजनिक मतपरिणामअनुसार बालेन शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ३८ हजार ६५ मतान्तरले पछाडि पारिसकेका छन्। यस आधारमा अब बाँकी रहेका सबै २४ हजार २५४ मत ओलीकै पक्षमा खसे पनि बालेनको जितलाई रोक्न गणितीय रूपमा सम्भव छैन।
त्यसैले औपचारिक घोषणा हुनुअघि नै उनको जित लगभग निश्चित भएको मानिएको छ।
चुनावी गणितका आधारमा बालेन र ओलीबीचको मतान्तर बाँकी रहेको मतभन्दा १३ हजार ८११ ले बढी भइसकेको छ। यसले गर्दा मतगणना पूरा हुनुअघि नै बालेनको जित सुनिश्चित भएको देखिएको हो।
निर्वाचन अधिकृतको कार्यालयले शनिबार मध्याह्न सार्वजनिक गरेको पछिल्लो मतगणना विवरणअनुसार ८२ हजार ११८ मत गणना भइसकेको छ। उक्त परिणाममा बालेन शाहले ५२ हजार ९६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमाले अध्यक्ष ओलीले १४ हजार ३१ मत पाएका छन्।
यो मतपरिणामअनुसार दुवै नेताबीचको ३८ हजार ६५ को मतान्तर गणना गर्न बाँकी रहेको २४ हजार २५४ मतभन्दा धेरै भएकाले परिणाम लगभग स्पष्ट भइसकेको छ।
पञ्चायतकालदेखि नै ओलीको प्रभाव रहेको यस क्षेत्रमा यसपटक देखिएको परिणामले राजनीतिक रूपमा ठूलो परिवर्तनको संकेत गरेको विश्लेषण गर्न थालिएको छ। निर्वाचन कार्यालयले बाँकी मत गणना सम्पन्न गरेपछि शनिबार साँझसम्म औपचारिक नतिजा सार्वजनिक गर्ने सम्भावना रहेको बताइएको छ।
झापा क्षेत्र नम्बर ५ मा गणना गर्न बाँकी मतभन्दा मतान्तर नै धेरै भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह औपचारिक घोषणाअघि नै विजयी हुने निश्चित भएको छ। कुल १ लाख ६ हजार ३७२ मत खसेको यस क्षेत्रमा अहिले गणना गर्न बाँकी मत २४ हजार २५४ मात्रै रहेको छ।
प्रतिक्रिया