काठमाडौं- मोरङ–४ मा जारी मतगणनाबिच नेकपा उम्मेदवार अमनलाल मोदीले आफ्नो हार स्वीकार गरेका छन् ।
मतान्तर उल्लेख्य रूपमा बढेपछि उनले सामाजिक सञ्जालमार्फत हार स्वीकार गर्दै विजयीउन्मुख राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सन्तोष राजवंशीलाई बधाई दिएका हुन् ।
मोदीले मतगणना अझै जारी रहे पनि मतान्तर धेरै भएकाले हार स्वीकार गर्ने निर्णय गरेको बताएका छन् ।
उनले विजयीउन्मुख उम्मेदवार सन्तोष राजवंशीलाई बधाई दिँदै देशव्यापी रूपमा अभूतपूर्व जित हासिल गरेकोमा रास्वपालाई समेत शुभकामना व्यक्त गरेका छन् ।
साथै तारा चुनाव चिह्नमा मतदान गर्ने सबै मतदाताप्रति उनले हार्दिक कृतज्ञता व्यक्त गरेका छन् ।
चुनावी अभियानमा सक्रिय रूपमा सहयोग गर्ने नेपाली कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ता, समर्थक तथा शुभचिन्तकप्रति पनि उनले धन्यवाद ज्ञापन गरेका छन् ।
मोदीले चुनाव परिणामबाट विचलित नहुने उल्लेख गर्दै आत्मसमीक्षा गर्दै नेपाली कम्युनिस्ट पार्टीलाई अझ सशक्त बनाएर अघि बढ्ने बताएका छन् ।
उनले चुनावमा हार–जित स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ मजबुत बनाउँदै देश र जनताको पक्षमा निरन्तर प्रतिबद्ध रहने बताएका छन् ।
प्रतिक्रिया