+
Search

ताजा अपडेट +

पपुलर +

अर्धवार्षिक समीक्षा:

अनुत्पादक खर्च घटाउँदै उत्पादनमुखी कार्यक्रमतर्फ पालुङटार

छ महिनामा ३८ प्रतिशत मात्र राजस्व संकल

पालिका लाइभ
२०८२ पुष २९, मंगलवार

गोरखा– पालुङटार नगरपालिकाको चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक समीक्षाको अवधिमा सन्तोषजनक नरहेको तथ्य सार्वजनिक गरेको छ। नगरपालिकाले चालु आर्थिक वर्षका लागि करिब ८६ करोड ८४ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरे पनि छ महिनाको अवधिमा जम्मा ३८ प्रतिशत मात्र राजस्व संकलन भएको हो ।

नगरपालिकाले सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्षमा कुल प्रस्तावित आम्दानीमध्ये करिब ३३ करोड रुपैयाँ हाराहारी मात्र संकलन भएको छ। आन्तरिक स्रोतबाट हुने आम्दानी कमजोर हुनु, संघ र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान अपेक्षित समयमा प्राप्त नहुनु तथा केही राजस्व शीर्षकमा लक्ष्यअनुसार प्रगति नहुनुले समग्र आम्दानी प्रभावित भएको नगरपालिकाको दाबी छ ।

राजस्व संकलन कमजोर रहँदा विकास निर्माण, सेवा प्रवाह र चालु खर्च व्यवस्थापनमा प्रत्यक्ष दबाब परेको देखिन्छ। नगरपालिकाका अनुसार सीमित आम्दानीकै कारण धेरै योजना अपेक्षित गतिमा अघि बढ्न सकेका छैनन्। विशेषगरी पुँजीगत खर्चतर्फ असर परेपछि दीर्घकालीन विकासका योजनाहरू प्रभावित भएका छन्।

खर्चतर्फको अवस्था पनि उत्साहजनक छैन। अर्धवार्षिक अवधिमा कुल औसत खर्च करिब १९ प्रतिशतमा सीमित रहेको छ। चालु खर्चतर्फ करिब २६ प्रतिशत प्रगति भए पनि पुँजीगत खर्च भने ६ प्रतिशतभन्दा कम रहनुले विकास बजेट कार्यान्वयन कमजोर रहेको संकेत गर्छ। नगरपालिकाले यो अवस्थालाई कार्यान्वयन क्षमता, प्रशासनिक प्रक्रिया र योजना छनोटसँग जोडेर हेरेको छ।

आम्दानी लक्ष्यभन्दा निकै पछाडि परेपछि नगरपालिकाले बजेट संशोधनको बाटो रोजेको छ। चालु आर्थिक वर्षका लागि ल्याइएको बजेट तथा कार्यक्रमहरूको पुनरावलोकन गर्दै प्राथमिकता पुनः निर्धारण गरिएको नगरपालिकाले जनाएको छ। अब स्वास्थ्य, शिक्षा, कृषि र विपद् व्यवस्थापनजस्ता जनजीवनसँग प्रत्यक्ष जोडिएका क्षेत्रमा बजेट केन्द्रित गर्ने नीति लिइएको छ।

औपचारिकता मात्र पूरा गर्ने, प्रभाव नदेखिने तथा दोहोरोपन भएका कार्यक्रमहरूबाट बजेट झिकेर स्रोत सुनिश्चित भएका र तत्काल परिणाम दिने योजनामा लगानी गर्ने योजना रहेको नगर प्रमुख विवश चिन्तन बताउँछन् । सीमित स्रोतको अधिकतम उपयोग गर्नुपर्ने बाध्यताबीच बजेट संशोधन अपरिहार्य बनेको उनी बताउँछन् ।

अर्धवार्षिक समीक्षाले केही क्षेत्रमा भने सकारात्मक संकेत पनि देखाएको छ। कृषि तथा पशुपालन क्षेत्रमा तथ्यांक अद्यावधिक, उन्नत बीउ वितरण, रोग नियन्त्रण तथा दुग्ध उत्पादन प्रवर्द्धन कार्यक्रम अघि बढेका छन्। दुग्ध संकलन केन्द्र सञ्चालन र उत्पादनमा आधारित अनुदान कार्यक्रमले किसानको आम्दानी बढाउने अपेक्षा गरिएको छ।

शिक्षा क्षेत्रमा विद्यालयस्तरमा सिकाइ सुधार, शिक्षक व्यवस्थापन र अनुगमनलाई निरन्तरता दिइएको छ भने सामाजिक क्षेत्रमा महिला, दलित, जनजाति तथा पिछडिएका वर्ग लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ। नगरपालिकाले सामाजिक समावेशिता र समान पहुँचलाई बजेट संशोधनको मुख्य आधार बनाएको जनाएको छ।

रोजगारी सिर्जना र आयआर्जन कार्यक्रमलाई पनि नगरपालिकाले विशेष प्राथमिकतामा राखेको छ। विपन्न र बेरोजगार लक्षित कार्यक्रमलाई प्रधानमन्त्री रोजगार कार्यक्रमसँग समन्वय गर्दै स्थानीय तहमा रोजगारी सिर्जना गर्ने नीति लिइएको छ। साथै, ऐतिहासिक, प्राकृतिक र सांस्कृतिक सम्पदाको प्रवर्द्धन गर्दै पर्यटन विकासमार्फत आर्थिक गतिविधि बढाउने रणनीति पनि अगाडि सारिएको छ।

आम्दानी कमजोर र खर्च प्रगति न्यून रहँदा बजेट कार्यान्वयनमा चुनौती देखिए पनि नगरपालिकाले बजेट संशोधन र प्राथमिकता पुनः निर्धारणमार्फत सुधारको प्रयास थालेको छ। अबको मुख्य चुनौती भनेको बाँकी अवधिमा राजस्व संकलन बढाउँदै संशोधित बजेटलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नु नै हो।

पुर्णपाठ

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ