+
Search

ताजा अपडेट +

पपुलर +

रवि–बालेन वार्ता फेल :

आफ्नै नेतृत्वमा दल बनाउने योजनामा बालेन, मध्यरातसम्म कुपण्डोलमा केके छलफल भयो ?

लौरो बोकेर चुनावमा जाने बालेनको तयारी, बन्दैछ उम्मेदवारको सूची

फाइल तस्बिर
पालिका लाइभ
२०८२ पुष १०, बिहीबार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग करिब ६ घण्टा लामो वार्ता गरेका काठमाडौं महानगरपालिकाका मेयर बालेन साह आफ्नै राजनीतिक दल गठन गर्ने तयारीमा जुटेका छन्। रविसँग ठोस सहमति नजुटेपछि बालेनले आफ्नै नेतृत्वमा नयाँ दल बनाएर आगामी चुनावमा जाने गृहकार्य थालेका हुन्।

सभापति लामिछानेको उद्देश्य बालेनलाई रास्वपाका समाहित गराउने मात्र रहेको बुझाइ बनेपछि बालेनले कांग्रेस, एमालेलगायत विभिन्न दलमा रहेका लोकप्रिय अनुहार, सामाजिक सञ्जालमा प्रभावशाली व्यक्तित्व र जनताबीच परिचित अनुहारहरूलाई समेटेर अघि बढ्ने रणनीति बनाएका छन्।

बालेनको स्वकीय सचिव भूपदेव शाह, सुनिल लम्साललगायतले विभिन्न दलका लोकप्रिय युवा नेताहरूसँग फोनमार्फत सम्पर्क गर्दै ‘एकपटक मेयर सा’बसँग भेटेर छलफल गरौँ’ भन्ने प्रस्ताव राखिरहेको स्रोतले जनाएको छ। बुधबार बालेनको टोलीले दिनभर विभिन्न व्यक्तिहरूसँग छलफल गरेको थियो भने यो क्रम आज पनि जारी छ। ‘देश विकास पार्टी’ नामबाट चुनाव लड्ने तयारीसहित समानुपातिकतर्फका सम्भावित उम्मेदवारको सूची संकलन गर्ने कामसमेत भइरहेको बालेननिकट स्रोतको दाबी छ।

यसैक्रममा बालेनले जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरी तथा विवेकशील साझाका मिलन पाण्डेसँग समेत छलफल गरेका छन्। केही पपुलिस्ट फिगरहरूसहित सबै समुदायभित्र उद्यम, सामाजिक सेवा र अभियानमार्फत स्थापित भएका युवाहरूको सूची तयार गर्ने काम जारी रहेको जनाइएको छ।

बालेनको देशव्यापी प्रभावका कारण लामिछानेको भन्दा बालेनकै फेसले बढी भोट ल्याउने आंकलन उनका सहयोगीहरूको छ।

सामाजिक सञ्जालमा सक्रिय पूर्वसचिव भीम उपाध्यायदेखि कलाकार निश्चल बस्नेतसम्म बालेनको भेलामा सहभागी भएका थिए। कुपण्डोलस्थित बैठकस्थलमा विभिन्न व्यक्तिहरूको आवतजावत जारी रहेको र केहीसँग सामूहिक छलफलसमेत भएको बताइएको छ।

सोसल मिडिया इन्फ्लुएन्सर तथा कन्टेन्ट क्रियटरहरूको समूह पनि बालेनको पक्षमा उभिने क्रम बढ्दै गएको दाबी गरिएको छ। साथै, बालेनको टिममा रास्वपा छाडेकी सुमना श्रेष्ठ तथा रास्वपाकै नेता गणेश कार्कीलगायत पनि रहने भएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ