+
Search

ताजा अपडेट +

पपुलर +

गोरखामा बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ निर्माणको तयारी अन्तिम चरणमा

पालिका लाइभ
२०८२ पुष ८, मंगलवार

गोरखा– गोरखामा दुई वटा ठूला जलविद्युत् आयोजना बूढीगण्डकी ‘क’ र बूढीगण्डकी ‘ख’ निर्माणको तयारी अन्तिम चरणमा पुगेको छ। क्रमशः १०३ दशमलव ४ मेगावाट र २२६ मेगावाट क्षमताका यी आयोजनाको प्रवर्द्धन नौलो नेपाल हाइड्रो इलेक्ट्रिक कम्पनी प्रालिले गर्न लागेको आयोजनाका इञ्जिनियर दुर्गेश मगरले जानकारी दिएका छन्।

इञ्जिनियर मगरका अनुसार बूढीगण्डकी ‘क’ आयोजना निर्माणका लागि करिब ३१ अर्ब ३२ करोड रुपैयाँ लागत अनुमान गरिएको छ भने बूढीगण्डकी ‘ख’ आयोजनाको लागत ५६ अर्ब ९९ करोड रुपैयाँ रहेको छ। दुवै आयोजना रन अफ द रिभर प्रविधिमा आधारित हुनेछन्।

बूढीगण्डकी ‘क’ आयोजना अन्तर्गत धार्चे गाउँपालिका–३ को लुस्याङमा बाँध निर्माण गरी करिब चार किलोमिटर सुरुङमार्फत पानी माछाखोलासम्म ल्याइनेछ। त्यहाँ निर्माण हुने विद्युत् गृहमा १११ मिटरको सतहबाट पानी खसालेर विद्युत् उत्पादन गरिने योजना छ। यस आयोजनाबाट उत्पादन भएको विद्युत् १२ दशमलव ७ किलोमिटर लामो ट्रान्समिसन लाइनमार्फत बूढीगण्डकी ‘ख’ आयोजनामा जोडिनेछ।

यस्तै, २२६ मेगावाट क्षमताको बूढीगण्डकी ‘ख’ आयोजनाको बाँध धार्चे–७ खानीबेंसीमा निर्माण गरिनेछ। त्यहाँबाट ९ दशमलव ५ किलोमिटर सुरुङमार्फत सोतीमा रहेको विद्युत् गृहमा पानी पुर्‍याइनेछ। यस आयोजनामा १९७ दशमलव ९७ मिटरको उचाइबाट पानी खसालेर विद्युत् उत्पादन गरिने इञ्जिनियर मगरले बताएका छन्।

उनका अनुसार दुवै आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआइ) र विद्युत् खरिद सम्झौता (पिपिए) सम्पन्न भइसकेको छ। भूकम्पअघि गरिएको सर्वेमा भूकम्पपछि आएको परिवर्तन समेटेर अन्तिम सर्वेको काम भइरहेको र आउँदो सुक्खायामबाट निर्माण कार्य सुरु गर्ने तयारी गरिएको उनले बताए।

यी दुवै आयोजनाबाट उत्पादन हुने र बूढीगण्डकी ‘क’ बाट थप प्राप्त हुने गरी कुल ३२९ दशमलव ४ मेगावाट विद्युत् १८ दशमलव ५ किलोमिटर टाढा धादिङको लापा स्थित सवस्टेशनमा जोडिनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ