काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतका निकायका प्रमुखहरूसँग आर्थिक वर्ष २०८२/८३ का लागि कार्यसम्पादन सम्झौता गरिएको छ।
आज मन्त्रालयमा आयोजित कार्यक्रममा ऊर्जामन्त्री दीपक खड्का, मन्त्रालयका तीन सचिव र तिनका मातहतका विभागीय प्रमुखबीच सम्झौता भएको हो। मन्त्री खड्का र ऊर्जा सचिव सुरेश आचार्य, जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडी तथा जल तथा ऊर्जा आयोगका सचिव दिनानाथ मिश्रबीच सम्झौता आदान–प्रदान गरिएको छ। त्यसपछि सचिव र महानिर्देशकबीच पनि सम्झौता सम्पन्न भयो।
ऊर्जा सचिव आचार्य आगामी भदौ १५ गते ५८ वर्षे उमेर हदका कारण अवकाशमा जान लागेका छन्। पाँच दिनमै अवकाशमा पुग्दै गरेका उनले पनि मन्त्रीसँग वर्षभरिका कार्यहरूको सूचीमा हस्ताक्षर गर्दै सम्झौतामा सहभागी भए।
कार्यक्रममा मन्त्री खड्काले गत वर्षको अनुभवलाई आधार मानेर यस वर्ष सम्झौतामा उल्लेखभन्दा बढी काम गर्न सकिने विश्वास व्यक्त गरे। उनले आयोजना निर्माणका समस्या समाधानमा सक्रिय समन्वय गर्न, अनलाइन रिपोर्टिङ प्रणाली जडान गर्न र हप्तामा एक पटक प्रगतिबारे रिपोर्ट उपलब्ध गराउन निर्देशन दिए।
सचिव दवाडीले सम्झौता कार्यान्वयनअनुसार मूल्याङ्कन हुने भएकाले नतिजा देखिने गरी काम गर्नुपर्ने धारणा राखिन्।
विभागीय महानिर्देशक मित्र बरालले शतप्रतिशत प्रगति हासिल हुने गरी काम गर्ने प्रतिवद्धता जनाए। त्यस्तै, सचिव मिश्रले सम्झौतामा उल्लेखित उद्देश्य पूरा गर्न सबै निकाय लाग्नुपर्ने आवश्यकता औंल्याए।
यसअघि साउन २९ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्री खड्काबीच मन्त्रालयको कार्यसम्पादन सम्झौता भएको थियो।
प्रतिक्रिया