काठमाडौं- काठमाडौं महानगरपालिकाले धनुषा डिस्टिलरी प्रालिले उत्पादन गरेको ‘मुस्ताङ गोल्ड’ मदिरामा अखाद्य पदार्थ फेला परेपछि उद्योगमाथि कारबाही गरेको छ।
सिलबन्दी अवस्थामा बिक्री वितरण भइरहेको उक्त मदिरामा झिँगा जस्तो पदार्थ भेटिएपछि महानगरले कम्पनीलाई २ लाख रुपैयाँ जरिवाना गरेको हो।
भदौ ४ गते उपभोक्ताले महानगर प्रहरी बलमा मदिरामा झिँगा भेटिएको उजुरी दिएपछि नमुना संकलन गरी जाँच गरिएको थियो। परीक्षणका क्रममा सिलबन्दी बोतलभित्र अखाद्य तत्त्व फेला परेको पुष्टि भएको हो।
महानगरले यो कार्यलाई बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७५ बमोजिम अनुचित व्यापारिक गतिविधि ठहर गर्दै कारबाही गरेको जनाएको छ। जरिवाना रकम राजस्व खातामा बुझाइसकेपछि विभागमा प्रतिवेदन पेस गर्नुपर्ने व्यवस्था रहेको छ।
महानगरको कृषि तथा पशुपक्षी विभागले खाद्य तथा पेय पदार्थको गुणस्तरमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता जनाएको छ।
विभागका अनुसार उपभोक्ताको स्वास्थ्यलाई प्राथमिकता दिँदै नियमित अनुगमनलाई अझ कडा बनाइनेछ।
प्रतिक्रिया