काठमाडौं– अर्थमन्त्री विष्णु पौडेलले नेपालले एक वर्षमा उल्लेखनीय प्रगति गरेको सन्देश जाने गरी सोभरेन क्रेडिट रेटिङको गृहकार्य अगाडि बढाउन निर्देशन दिएका छन्।
उनले सोमबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी, सदस्य डा. प्रकाशकुमार श्रेष्ठ, राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे लगायतको बैठक राखेर उल्लेखनीय प्रगति गरेको सन्देश जाने गरी तयारी अगाडि बढाउन निर्देशन दिएका हुन्।
बैठकमा अर्थतन्त्र, नीति तथा कानुनी क्षेत्र र सुशासनका क्षेत्रमा भएका सुधारका साथै राजनीतिक स्थायित्व, सडक, पर्यटन, जलविद्युत लगायतमा हासिल भएका उपलब्धिलाई प्राथमिकता दिनेबारे छलफल भएको पौडेलको सचिवालयले जनाएको छ।
बैठकमा अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश भट्टराईले क्रेडिट रेटिङसम्बन्धी अहिलेसम्म गरिएका तयारीबारे प्रस्तुति गरेका थिए।
अन्तर्राष्ट्रिय एजेन्सी फिचले नेपालको रेटिङ गर्ने गर्छ। फिचले गत वर्ष गरेको सोभरेन क्रेडिट रेटिङमा नेपालले बीबी माइनस पाएको थियो।
प्रतिक्रिया