काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आर्थिक कूटनीति तथा जनस्तरमा सम्बन्ध विस्तारकालागि अवैतनिक वाणिज्यदूतहरुको भूमिका अत्यन्तै महत्त्वपूर्ण रहेको बताएकी छिन्।
काठमाडौंमा बुधवार आयोजित अनररी कन्सुलर कोर नेपाल (एचसीसी–एन) को १८औँ वार्षिक साधारण सभा तथा चार्टर डे समारोहमा बोल्दै मन्त्री राणाले नेपाल र अवैतनिक वाणिज्यदूतहरुले प्रतिनिधित्व गरेका राष्ट्रहरूबीचको सम्बन्धलाई थप मजबुत बनाउनु साथै सम्बन्धित राष्ट्रहरूसँग आर्थिक, शैक्षिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्ध विस्तार गर्न अवैतनिक वाणिज्यदूतहरुको भूमिका अत्यन्तै महत्त्वपूर्ण रहेको बताएकी हुन्।
मन्त्री डा राणाले भनिन्, ‘वर्तमान विश्वमा द्विपक्षीय सहयोग र साझेदारीलाई साझा समृद्धिका लागि अगाडि बढाउनुपर्ने आवश्यकता छ । व्यापार प्रवर्द्धन, वैदेशिक लगानी आर्कषण, बजारसम्मको पहुँचको सुनिश्चितता, अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि प्रवर्द्धन तथा परस्पर लाभ र चासोका विषयहरूमा यहाँहरूको योगदान अनिवार्य र महत्त्वपूर्ण छ।’
कार्यक्रममा बोल्दै एचसीसीएनका डीन चन्द्रप्रसाद ढकालले अवैतनिक वाणिज्यदूतहरू केवल औपचारिक प्रतिनिधि नभई नेपालको आर्थिक कूटनीतिका सक्रिय साझेदार भएको बताए।
उनले भने, ‘हामी सेरेमोनिएलबाट माथि उठेर सक्षम, सक्रिय र समर्पित ढंगले नेपालको कूटनीति र विकासमा योगदान दिइरहेका छौँ।’
ढकालले वर्तमान विश्व पारस्परिक रूपमा जोडिएको परिस्थितिमा आर्थिक कूटनीतिको महत्त्व झन् तीव्र गतिमा बढिरहेको उल्लेख गर्दै भने, ‘आजको विश्वव्यापी युगमा आर्थिक कूटनीति विकल्प होइन, आवश्यकता हो।’
आईएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहेका ढकालले राष्ट्रिय हितका पक्षमा एचसीसीएनको प्रतिबद्धता दोहोर्याउँदै भने, ‘नेपाल अल्प विकसित राष्ट्र (एलडीसी) को श्रेणीबाट स्तरोन्नति हुने तयारीमा रहेकाले अवैतनिक वाणिज्यदूतहरूले आर्थिक रूपान्तरणमा स्वयंसेवकको रूपमा काम गर्न सक्नेछन् ।’
ढकालले एचसीसीएन राष्ट्रिय प्राथमिकताप्रति समर्पित रहेको बताउँदै परराष्ट्र मन्त्रालयसँगको सहकार्यमा महासंघ र एचसीसीएनले पहिलो पटक नेपालमा आर्थिक सम्मेलन आयोजना गर्नको लागि तयारी गरिरहेको जानकारी दिए।
हालै काठमाडौँको चन्द्रगिरिमा परराष्ट्र मन्त्रालयसँग संयुक्त रूपमा आयोजित कार्यशालाको स्मरण गर्दै उनले त्यस अवसरमा अवैतनिक वाणिज्यदूतहरूले वैदेशिक लगानी, नवप्रवर्तन, व्यापार, पर्यटन र गैरआवासीय नेपालीहरूसँगको सहकार्यमा योगदान पुर्याउन सक्ने उल्लेख गरे।
संयुक्त राष्ट्रसंघका पूर्वउपमहासचिव ज्ञानचन्द्र आचार्यले आफ्नो विशेष मन्तव्यमा कूटनीति र अन्तर्राष्ट्रिय समुदायमाझ नेपालको युनिक उपस्थिति र बदलिँदो विकासलाई समन्वय गरेर अघि बढ्न अवैतनिक वाणिज्यदूतहरुको भूमिका प्रस्ट पारेका थिए।
प्रतिक्रिया