काठमाडाैं– नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले चालू आर्थिक वर्ष २०८२/८३ का लागि ३१ अर्ब ४० करोड ४७ लाख बजेट विनियोजन गरेको छ ।
अघिल्लो वर्ष ३४ अर्ब १२ करोड १६ लाख विनियोजन गरेको क्यानले चालु आर्थिक वर्षका लागि दुई अर्ब ७१ करोड ६९ लाख बजेट घटाएको छ ।
क्यानले पूँजीगततर्फको बजेट भने बढाएर १२ अर्ब ३९ करोड ७० लाख पुर्याएको छ । गत वर्ष एघार अर्ब ५२ करोड २५ लाख विनियोजन गरिएको थियो । यस्तै कार्य सञ्चालनतर्फ ६ अर्ब १५ करोड ६७ लाख विनियोजन गरिएको छ ।
अघिल्लो आर्थिक वर्ष ६ अर्ब ५२ करोड ७१ लाख विनियोजन भएको थियो । वित्तीय व्यवस्थापनका लागि १२ अर्ब ८५ करोड १० लाख बजेट विनियोजन गरिएको क्यानले उल्लेख गरेको छ ।
क्यानका महानिर्देशक प्रदीप अधिकारीले पूँजीगत खर्च बढाउने र सञ्चालन खर्च घटाउनेतर्फ क्यान केन्द्रित रहेको बताए ।
उनले प्राधिकरणको आम्दानी बढाउन विमानस्थल शुल्क, यात्रुसेवा आदि विषयमा पुनरावलोकन हुन जरूरी भएको बताए ।
महानिर्देशक अधिकारीले क्यानको स्रोत खुम्चिएको र हरेक वर्ष बजेट घटिरहेको भन्दै स्रोत व्यवस्थापनमा ध्यान दिने विश्वास व्यक्त गरे ।
उनले भैरहवा र पोखरा अन्तररष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालका लागि पहल भइरहेको जानकारी दिए ।
प्रतिक्रिया