+
Search

ताजा अपडेट +

पपुलर +

सक्रियता पूर्वराष्ट्रपति भण्डारी:

बालेनलाई निवासमै बोलाएर विद्यादेवी भण्डारीले सोधिन्: ‘बजेट किन रोकिएको?’

पूर्वराष्ट्रपतिबाट भएको यो संवादलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। भण्डारी सक्रिय राजनीतिमा प्रवेशको संकेत दिइरहँदा राजधानीको नेतृत्वसँग गरिएको यो प्रत्यक्ष संवादले उनको सक्रियताको दायरालाई अझ फराकिलो बनाएको देखिन्छ।

पालिका लाइभ
२०८२ असार २२, आईतवार

काठमाडौं– राजनीतिमा सक्रिय हुने औपचारिक घोषणा गरेपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक भेटघाट र संवादलाई तीव्रता दिएकी छन्। विभिन्न राजनीतिक दलका नेताहरूसँगको छलफलसँगै उनले राजधानीका समसामयिक विषयहरूमा पनि चासो देखाउन थालेकी छन्।

यही सिलसिलामा भण्डारीले गत बिहीबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सँग भेटवार्ता गरेकी छन्। मेयर बालेन भण्डारीकै निमन्त्रणामा ललितपुरस्थित भंगालको निजी निवासमा पुगेका थिए।

भेटवार्ताको संयोजन नेकपा एमालेका एक नेतामार्फत गरिएको थियो। ती नेताले मेयर बालेन र पूर्वराष्ट्रपति भण्डारीबीचको संवादको पहल गरेका थिए।

भेटका क्रममा भण्डारीले महानगरपालिकामा पछिल्लो समय देखिएको प्रशासनिक तथा राजनीतिक अन्योलप्रति चासो व्यक्त गरेकी थिइन्। विशेष गरी महानगरले आगामी आर्थिक वर्षको बजेट र नीति कार्यक्रम किन ल्याउन नसकेको भन्ने विषयमा उनले मेयर बालेनसँग कुरा गरेकी थिइन्।

भण्डारीले महानगरको आन्तरिक कामकारबाही, नीति निर्माण प्रक्रिया र कार्यपालिकाको गतिविधिबारे जानकारी लिँदै हाल देखिएको गतिरोधको कारण जान्न चाहेको स्रोतले जनाएको छ।

मेयर बालेनले पनि आफूले सामना गरिरहेको प्रशासनिक जटिलता, कार्यपालिकाभित्रको मतभेद र निर्णय प्रक्रियामा देखिएको असहजता बारे स्पष्ट रूपमा जानकारी गराएको बताइएको छ।

‘उहाँले बजेटसँग सम्बन्धित विषयहरूबारे गम्भीर चासो राख्नुभयो,’ बालेन निकट स्रोतले भन्यो, ‘मेयरज्यूले कार्यपालिका बैठक बस्न नसकेको अवस्था, प्रमुख प्रशासकीय अधिकृत र अन्य सदस्यहरूसँग सहमति जुटाउन कठिन भइरहेको जस्ता चुनौतीबारे खुलस्त राख्नुभयो।’

हालसम्म कार्यपालिका बैठक नै नबस्दा काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को लागि नीति तथा कार्यक्रमसहितको बजेट प्रस्तुत गर्न सकेको छैन। यसले नगरवासीको जनअपेक्षा र सेवाप्रवाहमा समेत प्रभाव पारिरहेको अवस्था छ।

पूर्वराष्ट्रपति भण्डारीले भेटका क्रममा यो अवस्था दीर्घकालीन रूपमा नटिकोस् भन्ने अपेक्षा व्यक्त गरेकी थिइन्। उनले सहमतिको आधारमा काम अगाडि बढाउन सुझाव दिएको पनि स्रोतको दाबी छ।

पूर्वराष्ट्रपतिबाट भएको यो संवादलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। भण्डारी सक्रिय राजनीतिमा प्रवेशको संकेत दिइरहँदा राजधानीको नेतृत्वसँग गरिएको यो प्रत्यक्ष संवादले उनको सक्रियताको दायरालाई अझ फराकिलो बनाएको देखिन्छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ