+
Search

ताजा अपडेट +

पपुलर +

‘नबिल सस्टेनेबल बैंकिङ’ पाँचौं वर्षमा, असार २१ गतेसम्म ‘ग्रीन विक’ मनाउने

पालिका लाइभ
२०८२ असार १६, सोमबार

काठमाडौं– नबिल बैंकको ‘नबिल सस्टेनेबल बैंकिङ’ पाँचौं वर्षमा प्रवेश गरेको छ।

चौथौं वार्षिकोत्सवका अवसरमा आइतबारबाट असार २१ गतेसम्म ‘नबिल ग्रीन विक’ मनाउन सुरु गरेको बैंकले जनाएको छ।

ग्रीन विक अन्तर्गत विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागितामा दिगोपना विषयमा केन्द्रित कार्यक्रम गरिंदैछ।

साताव्यापी सञ्चालन हुने नबिल ग्रीन विकअन्तर्गत हुने वेबिनार शृङ्खलामा नबिल बैंकका विज्ञसहित जीआइजेड नेपाल, सिम्पल इनर्जी, वीवाइडी, सिजी मोटर्स लगायत कम्पनीका प्रतिनिधिका साथै वातावरण, समाज तथा सुशासनसँग सम्बन्धित विज्ञ तथा कृषि क्षेत्रका जानकारहरु सहभागी हुने बैंकले जनाएको छ।

कार्यक्रममा सोलार रुफटप सोलुसन, विद्युतीय सवारीसाधन र दिगो कृषिका विषयमा ज्ञान आदानप्रदान गरिनेछ।

नबिलले दिगो बैंकिङमार्फत विभिन्न उपलब्धि हासिल गरेको छ। हालसम्म पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सिङको मापदण्डअनुसार ग्रीनहाउस ग्यास उत्सर्जनका क्षेत्रमा नवीकरणीय ऊर्जा लगानीमार्फत ११ हजार १७२ टन उत्सर्जन न्यूनीकरणमा सहयोग पुर्‍याएको बैंकले बताएको छ।

बैंकले २१ जिल्लाका ३७ वटा नदीमा सञ्चालनमा रहेका ३ हजार ७० मेगावाट क्षमताका ४३ वटा जलविद्युत परियोजनामा लगानी गरेको छ।

बैंकले गत आर्थिक वर्षसम्म कृषि क्षेत्रमा ४५.३८ अर्ब, ऊर्जामा ३१ अर्ब र सुक्ष्म, घरेलु तथा साना उद्योगमा २५.०१ अर्ब रुपैयाँ लगानी गरेको छ। यी क्षेत्रमा लगानीबाट ४६ हजारभन्दा बढीलाई प्रत्यक्ष र अप्रत्यक्ष लाभ पुगेको बैंकको भनाइ छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ