गोरखा– पालुङटार नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ८४ करोड ६१ लाख १३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
नगर उपप्रमुख वन्दना पाण्डेद्वारा १७औँ नगर सभामा प्रस्तुत बजेटले शिक्षा, पूर्वाधार, कृषि, स्वास्थ्य, सामाजिक समावेशीकरण र सुशासनलाई मुख्य प्राथमिकतामा राखेको छ।
नगरपालिकाले बजेटको प्रमुख श्रोतका रूपमा संघीय सरकारबाट ७२ करोड ९४ लाख, गण्डकी प्रदेश सरकारबाट ४ करोड ६२ लाख १३ हजार, आन्तरिक आम्दानीबाट ६ करोड ६० लाख र सडक बोर्ड नेपालबाट ४५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ।
बजेट विनियोजनका आधारहरू संविधान, संघीय तथा प्रदेश सरकारका नीतिहरू, स्थानीय सरकार सञ्चालन ऐन, नगरको आवधिक योजना, विभिन्न समिति र सरोकारवालाबाट प्राप्त सुझावहरूमा आधारित रहेको जनाइएको छ।
नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ मा ८७ करोड ७ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। हालसम्मको प्रगति विवरण अनुसार कुल ४९ करोड ७८ लाख ८ हजार १ सय १६ रुपैयाँ ५२ पैसा खर्च भइसकेको छ, जुन कुल विनियोजनको ५७ दशमलव १७ प्रतिशत हो। चालु र पुँजीगत दुवै तर्फको खर्चलाई ध्यानमा राख्दा आवको अन्त्यसम्ममा ७६ प्रतिशत बजेट खर्च हुने अनुमान गरिएको छ।
यस्तै चालु आर्थिक वर्षमा ३ करोड आन्तरिक आम्दानीको लक्ष्य लिइएकोमा हालसम्म २ करोड ५३ लाख ६७ हजार रुपैयाँ संकलन भइसकेको छ, जुन लक्ष्यको ८४.५ प्रतिशत हो। आवको अन्त्यसम्ममा ९० प्रतिशत लक्ष्य पुरा हुने अपेक्षा गरिएको छ।
आगामी वर्षको बजेटमा शिक्षा क्षेत्रमा सबैभन्दा बढी ३० करोड ६३ लाख रुपैयाँ विनियोजन गरिएको छ। सामुदायिक विद्यालयमा बहुकक्षा बहुस्तर शिक्षण, छात्रवृत्ति, पोषणयुक्त खाजा, सामूहिक बीमा, यातायात सुविधा, नगरस्तरीय परीक्षा, शिक्षक अभावमा स्वयंसेवक शिक्षकको व्यवस्था, शुक्रवार अतिरिक्त क्रियाकलाप लगायतका कार्यक्रम अघि सारिएको छ।

कृषि तथा पशुपालन क्षेत्रमा १ करोड २५ लाख रुपैयाँ छुट्टाइएको छ। दूध र मासुमा आत्मनिर्भर बनाउने, स्थानीय बाली प्रवर्द्धन, किसान सूचीकरण, शीत भण्डारण, कृषि एम्बुलेन्स, घाँस वितरण, उन्नत बीउ वितरण लगायत कार्यक्रम समावेश छन्। रोजगारी र सिपमूलक कार्यक्रमहरू सञ्चालन गरी विपन्न समुदायलाई उद्यमशीलता र स्वरोजगारमा जोड्न पनि बजेट छुट्टाइएको छ।
स्वास्थ्यतर्फ, गाईखुर स्वास्थ्य चौकीलाई भोटेकाटे स्थानान्तरण गरी स्तरोन्नति गर्ने, ९८ प्रकारका औषधि निःशुल्क वितरण, मानसिक स्वास्थ्य अभियान, स्वास्थ्य स्वयंसेविका प्रोत्साहन, घुम्ती सेवा, अल्ट्रासाउन्ड, मातृ–शिशु पोषण सेवा, शव वाहन सेवालगायत कार्यक्रमहरू अघि सारिएका छन्।
पर्यटन, संस्कृति, खेलकुद र भौतिक पूर्वाधार विकास पनि बजेटको प्राथमिकतामा छन्। सहिद स्मृति पार्क, लिगलिगकोट–तातोपानी पदमार्ग, नगर गौरवका सडक, सिँचाइ, तटबन्ध, मन्दिर र सामुदायिक भवन निर्माणमा ठुला योजनाहरू प्रस्तुत गरिएको छ। सह-लगानीमा आधारित योजनाहरूलाई प्राथमिकता दिँदै सामुदायिक साझेदारीमा पूर्वाधार विकास गर्न ५० लाख रुपैयाँ विनियोजन गरिएको छ।
महिला, बालबालिका, ज्येष्ठ नागरिक, दलित, अपांगता भएका व्यक्ति र लक्षित वर्गका लागि सशक्तीकरण र समावेशी कार्यक्रमहरू सञ्चालन गरिने जनाइएको छ। सिपमूलक तालिम, हस्तकलाको उत्पादन र बजारीकरण, ज्येष्ठ नागरिक क्लबसहित अन्तरपुस्तीय संवाद कार्यक्रम पनि बजेटमा समेटिएको छ।
नगरपालिकाले यसबाहेक सञ्चारमैत्री सेवा प्रवाह, कर सुधार, राजस्व संकलन अभियान, करदातालाई छुट र प्रोत्साहन, पशु सेवामा पूर्ण छुट, निकासी कर खारेज, सूचनाको प्रवाह र मिडियासँग साझेदारी कार्यक्रमलाई पनि समावेश गरेको छ।
नगर उपप्रमुख पाण्डेले बजेट प्रस्तुत गर्दै सामाजिक न्याय, सेवा पहुँच, सुशासन र उत्पादनमा आधारित आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सबै सरोकारवालाको साथ र सहयोगको अपेक्षा गरेकी थिइन्।
(पूर्ठपाठ)
प्रतिक्रिया