+
Search

ताजा अपडेट +

पपुलर +

माथिल्लो मैवा जलविद्युत आयोजनामा एनएमबी बैंकको ऋण लगानी

पालिका लाइभ
२०८२ असार ३, मंगलवार

काठमाडौं- ताप्लेजुङको मैवाखोला र मेरिङदेन गाउँपालिकामा निर्माण हुने १७.८५ मेगावाट क्षमताको माथिल्लो मैवा खोला जलविद्युत आयोजनामा एनएमबी बैंक लिमिटेडले ऋण लगानी गर्ने भएको छ।

परियोजनाको वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता एनएमबी बैंक र काङ हाइड्रोपावर कम्पनीबीच सम्पन्न भएको हो।

एनएमबी बैंकको तर्फबाट चिफ, सस्टेनेबल ईनर्जी बैंकिङ्गका प्रमुख दिनेश दुलाल र काङ हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक गणेश प्रसाद सुब्बाबीच ऋण सम्झौतामा हस्ताक्षर गरिएको छ। सम्झौता हस्ताक्षरपछि एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द घिमिरे र कम्पनीका निर्देशक सुब्बाले औपचारिक रूपमा सम्झौता पत्र आदान–प्रदान गरेका थिए।

सम्झौता कार्यक्रममा सीईओ घिमिरेले आयोजना तोकिएको लागत र समयसीमा भित्रै सम्पन्न गर्नुपर्नेमा जोड दिँदै, निर्माणका क्रममा प्राविधिक, वातावरणीय तथा सामाजिक पक्षहरूको यथोचित व्यवस्थापनमा ध्यान दिन आग्रह गरे। उनले परियोजनाको दीर्घकालीन स्थायित्व सुनिश्चित गर्न वातावरणीय तथा सामाजिक उत्तरदायित्वलाई विशेष प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरे।

कम्पनीका प्रबन्ध निर्देशक सुब्बाले आयोजनालाई समयमै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्दै एनएमबी बैंकप्रति आभार प्रकट गरे। उनले परियोजनाले स्थानीय तथा राष्ट्रिय ऊर्जा उत्पादनमा योगदान पु-याउने विश्वाससमेत व्यक्त गरे।

एनएमबी बैंकले हालसम्म ५० भन्दा बढी जलविद्युत आयोजना निर्माणमा वित्तीय लगानी गरिसकेको छ। जलविद्युत क्षेत्रको दिगो विकासलाई ध्यानमा राख्दै बैंकले नेपाल राष्ट्र बैंकद्वारा जारी ‘पर्यावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन, २०२२’ सम्बन्धी निर्देशनअनुसार आफ्नो आन्तरिक नीति तथा कार्यविधि तयार पारेको जनाएको छ।

बैंकले पर्यावरणीय तथा सामाजिक व्यवस्थापन प्रणाली लागू गर्दै जलविद्युत आयोजनाका सम्भावित वातावरणीय, सामाजिक तथा मानव अधिकारसम्बन्धी जोखिमहरूको पहिचान, मूल्यांकन र न्यूनीकरणमा सक्रियतापूर्वक काम गर्दै आएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ