+
Search

ताजा अपडेट +

पपुलर +

गणतन्त्र दिवस

गणतन्त्र दिवसको मूल समारोह समितिबाट बालेनलाई हटाउन प्रधानमन्त्रीको निर्देशन

पालिका लाइभ
२०८२ जेष्ठ ५, सोमबार

काठमाडौं-गण तन्त्र दिवस, मूल समारोह समितिको बैठकमा अनुपस्थित भएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको नाम समितिबाटै हटाउन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार दिउँसो मूल समितिको बैठक बसेको थियो । उक्त बैठकमा काठमाडौंका मेयर शाह अनुपस्थित थिए ।

अघिल्लो वर्ष पनि उनी गणतन्त्र दिवसको अवसरमा आयोजित सभामा सहभागी भएका थिएनन् । आजको बैठकमा पनि उनी अनुपस्थित भएपछि प्रधानमन्त्री ओलीले बैठकमा चासो राखेका थिए ।

‘उहाँले नामै त भन्नुभएन, तर काठमाडौं महानगरका प्रमुख यसरी अनुपस्थित हुनुमा उहाँ (प्रधानमन्त्री)ले चासो राख्नुभयो’ बैठक स्रोतले भन्यो, ‘उहाँ (बालेन) नआउने हो भने अबदेखि समितिमा नै नराख्नू ।’ सम्भवतः मूल समारोह समितिको पदेन सदस्यमा महानगरको मेयर रहने व्यवस्था हटाइनेछ ।

बैठकले प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको बैठकमा गृह मन्त्रालयबाट प्रस्तुत समारोह समिति गठन र दिवसको कार्यक्रमसम्बन्धी प्रस्तावहरू छलफलसहित पारित भएको हो ।

मूल समारोह समितिमा उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्रीहरू, काठमाडौं महानगरपालिकामा प्रमुख, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, ललितपुर महानगरपालिकाका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका राजपत्राङ्कित अधिकृतहरू, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, काठमाडौं उपत्यकाका नगरपालिकाका प्रमुखहरू सदस्यहरूसहित गृह मन्त्रालयका सचिव सदस्यसचिव रहेका छन् ।

बैठकले यही जेठ १५ गतेको उक्त दिवसका लागि यही जेठ १४, १५ र १६ गते हरेक दिन साँझ सबै सार्वजनिक निकायमा दीप प्रज्वलनसहित त्रि दिवसीय रूपमा मनाउन केन्द्र, प्रदेश र स्थानीय तहका तिनै तहका सरकार र सम्बन्धित निकाय र निजी क्षेत्र र संघ–संस्थालाई समेटेर तहगत समिति र उपसमितिहरू गठन गरिएको छ ।

यस्तै, विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासमा पनि कार्यक्रम तय गरिएको छ । जेठ १५ गतेको मुख्य कार्यक्रम सैनिक मञ्च टुँडिखेलमा मूल समारोह समितिको कार्यक्रम हुनेछ ।

प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसलाई भव्यताका साथ जनस्तरमा समेत मनाउन आव्हान गर्दै यसलाई केवल औपचारिकतामा सीमित नराख्न आग्रह गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ