+
Search

ताजा अपडेट +

पपुलर +

२४ महिनाभित्र काम सम्पन्न गर्ने लक्ष्य

चनौटे–भच्चेक सडक कालोपत्रे हुँदै, अध्यक्ष देवकोटाको चुनावी प्रतिबद्धता कार्यान्वयनको चरणमा

तस्बिर : राज तामाङ
लीलाधर काेइराला
२०८२ बैशाख ८, सोमबार

भच्चेक– चनौटे–मुच्चाेक-भच्चेक सडक खण्ड अब कालोपत्रे हुने भएको छ।

गण्डकी प्रदेश सरकारबाट बजेट विनियोजन भएसँगै यस सडकको कालोपत्रे प्रक्रिया अगाडि बढेको हो। हाल सडक निर्माणका लागि ठेक्का प्रक्रिया सुरु गरिएको छ। यससँगै अजिरकोट गाउँपालिका अध्यक्ष दीपक देवकोटाको चुनावी घोषणामा उल्लेखित महत्त्वपूर्ण पूर्वाधार योजनाको कार्यान्वयन प्रारम्भ भएको छ।

अध्यक्ष देवकोटाले २०७९ सालको स्थानीय तह निर्वाचनका क्रममा भव्य रूपमा आयोजित जनसभाहरूमा यो सडक निर्माणलाई आफूले पहिलो प्राथमिकतामा राख्ने स्पष्ट घोषणा गरेका थिए। उनले जनतासँग प्रत्यक्ष संवाद गर्दै भनेका थिए, ‘भौतिक पूर्वाधार विकास बिना समृद्धि सम्भव छैन। चनौटे–मुच्चाेक-भच्चेक सडक मेरो कार्यकालमै कालोपत्रे बनाउने प्रतिबद्धता लिएको छु।’ उनी चुनाव जितेपछि पनि विभिन्न मञ्च र बैठकहरूमा यो विषयलाई प्राथमिकतामा राख्दै आएका थिए। अहिले आएर सो प्रतिबद्धता व्यवहारमा देखिन थालेको छ, जसले स्थानीयवासीमा उत्साह थपेको छ।

२०६३/०६४ मा ट्र्याक खनिएको यो सडक (चनौटेदेखि भच्चेकसम्म)को झन्डै १४ किलोमिटर लम्बाइको सो सडकको चौडाइ ४.२५ मिटर रहनेछ। यो सडक कालोपत्रे भएसँगै अजिरकोटका बासिन्दाले दैनिक आवतजावतमा सहजता अनुभव गर्नेछन् भने कृषि उपज बजारसम्म पुर्‍याउन पनि सहज हुनेछ।

पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर गणेश सुवेदीका अनुसार सडक कालोपत्रे गर्न अनुमानित लागत ७९ करोड रुपैयाँ रहेको छ। अहिले ठेक्का आह्वान भइसकेको र निर्माण कम्पनी छनोट प्रक्रिया तीव्र गतिमा अघि बढाइएको उनले जानकारी दिए। ‘१५ दिनभित्र निर्माण कम्पनी चयन गरेर ठेक्का सम्झौता गर्ने तयारी भइरहेको छ। सम्झौता भएको मितिले २४ महिनाभित्र काम सम्पन्न गर्नु पर्नेछ,’ उनले भने।

यो सडक खण्ड कालोपत्रे भएपछि भच्चेक बजार पुग्ने यो दोस्रो कालोपत्रे सडक हुनेछ। यसअघि चाेरकाटे-छोप्राक–चित्रेपोखरी हुँदै जाने सडक खण्ड कालोपत्रे भइसकेको छ। अब चनौटे–भच्चेक सडक कालोपत्रे भएपछि अजिरकोट गाउँपालिकाभित्रका बस्तीहरू एकआपसमा र बजारसँग सडक सञ्जालमार्फत अझ सहज रूपमा जोडिनेछन्।

अध्यक्ष देवकोटाले स्थानीय पूर्वाधार निर्माण र रोजगारी सिर्जनालाई आफ्नो कार्यकालको मुख्य एजेन्डा बनाएकाे बताए । ‘सडकले गाउँमा विकास ल्याउँछ, रोजगारी ल्याउँछ र आत्मनिर्भरता बढाउँछ,’ उनले भने, ‘हामी जनताको हितका लागि नीतिगत निर्णय र व्यवहारिक कार्यान्वयन दुवैमा गम्भीर छौं।’

स्थानीय बासिन्दाहरूले सडक निर्माणमा देखिएको गति र प्रतिबद्धतालाई सकारात्मक रूपमा लिएका छन्। वर्षौँदेखि हिलो र धुलोका बीच यात्रा गर्न बाध्य उनीहरू अब विकासको नयाँ अध्याय सुरु हुने आशामा छन्। ‘२०६३ मा ट्याक खनिएदेखि सडक कालोपत्रे हुने सपना देखिरहेका थियौँ,’ एक स्थानीय भन्छन्, ‘अब बल्ल त्यो सपना साकार हुने भयो।’

गाउँपालिकाले पछिल्ला समय पूर्वाधार विकासमा सक्रियता देखाउँदै आएको छ। योसँगै गाउँपालिका हरेक वडा कार्यालय जोड्ने सडक खण्ड अब पिच हुनेछ। वडा न १ र ३ काे पिच हुने क्रममा छ भने वडा न २ जाेड्ने सडक स्तरोन्नति भइरहेकाे छ।

२०६३/६४ को अन्तरिम सरकारकाे पालामा खनिएको यो ट्याक अहिले कालोपत्रे हुने प्रक्रियामा पुगेको हो।

प्रतिक्रिया

लेखकको बारेमा

लीलाधर काेइराला