पालुङटार- पालुङटार नगरपालिकाले जग्गाको वर्गीकरण गरी कित्ताकाट खुलाएको छ ।
नगरपालिकाले एक सूचना जारी गर्दै आजदेखि लानुहुने गरी जग्गाको कित्ताकाट खुलाएको हो ।
भू-उपयोग ऐन, २०७६ र भू उपयोग नियमावली, २०७९ को प्रावधान अनुसार नगरपालिकाले भू उपयोग क्षेत्र वर्गीकरण गरी स्थानीय भू उपयोग परिषद्को २०८० वैशाख २० गतेको बैठकबाट स्वीकृत गरेर जग्गाको वर्गीकरण गरेको हो ।
नगरपालिकाले विभिन्न १० भागमा भू उपयोग क्षेत्रमा वर्गीकरण गर्दै जग्गा कित्ताकाट खुलाएको नगर प्रमुख विवश चिन्तनले बताए । संघिय सरकारले जग्गाको कित्ताकाट गर्ने अधिकार स्थानीय तहलाई दिदैं २०७९ ज्येष्ठ २३ गतेदेखि बन्द गरेको थियो ।
पालुङटारमा जग्गा कित्ताकाट खोलेपछि राजश्वमासमेत वृद्धि हुने नगरपालिकाले अनुमान गरेको छ ।
गोरखाका ११ स्थानीय तहमा पालुङटारले सबैभन्दा पहिलो र गण्डकी प्रदेशको दोस्रोमा जग्गाको वर्गीकरण गरेको हो । प्रदेशमा सुन्दरबजार नगरपालिका, लमजुङले जग्गाको वर्गीकरण गरेको थियो ।
नगरपालिकालाई स्मार्ट पालिका निर्माण गर्ने भन्दै ‘स्मार्ट पालुङटार’ बनाउने अभियानमा सहज हुने उद्देश्यले जग्गाको वर्गीकरण गरी कित्ताकाटसमेत खुलाएको मेयर चिन्तनले बताए ।
प्रतिक्रिया