+
Search

ताजा अपडेट +

पपुलर +

‘विदेशी लगानी भित्र्याउन हेजिङ चाहिन्छ भनेँ, हाइड्रो व्यवसायीले नै हुँदैन भने’

पालिका लाइभ
२०७९ भाद्र २४, शुक्रबार

काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्माले नेपालका ठूला परियोजनामा विदेशी लगानी भित्र्याउने हेजिङको विषयमा राष्ट्र बैंक र कर्मचारीहरुले नबुझेको बताएका छन्।

शुक्रबार नेपाल उद्योग परिसंघले आयोजना गरेको पूर्वाधार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएका हुन्। उनले आफू ऊर्जामन्त्री भएको बेला नेपालमा हेजिङको आवश्यकता देखेर हेजिङ चाहिन्छ भन्दा मन्त्रीले देश बर्बाद बनायो भन्ने आरोप लागेको गुनासो गरे।

उनले विगत लोमो समयदेखि नेपालका ठूला परियोजनामा विदेशी लगानी भित्र्याउन हेजिङ आवश्यक भनेर नियमवाली बनाउने कुरा अगाडि बढे पनि राष्ट्र बैंक ब्यूरोकेसीलाई बुझाउन नसक्दा ठूलो लडाइँ लडेर अहिले मन्त्रीपरिषद्बाट हेजिङ सम्बन्धि नियमावली पास भएको जानकारी दिए।

मन्त्री शर्माले नेपालको जलविद्युत क्षेत्रमा सबैभन्दा बढी हेजिङको आवश्यकता भएपनि हाइड्रो व्यवसायीहरुले नै चाहिँदैन भनेको बताए। उनले विदेशी लगानी ल्याउन नेपालको वैदेशिक लगानी सम्बन्धी नीति निकै कसिला भएको बताए।

मन्त्री शर्माले राष्ट्र बैंक, अर्थ मन्त्रालय, वन मन्त्रालयको नीति कसिलो भएको बताए। उनले वैदेशिक लगानी सम्बन्धि कसिलो नीतिले देश विकास हुन नसक्ने भन्दै नीति र सोचमा परिवर्तन गर्नुपर्ने बताए। त्यस्तै,मन्त्री शर्माले पहाड खनेर ढुङ्गा बिक्री गरौं भन्ने प्रस्ताव गर्दा देश बिक्री गरेको आरोप लाग्ने गरेको बताए।

उनले आफ्नो देशमा भएको स्रोत प्रयोग नगरी कुनैपनि देशमा लगानी बढ्न र पुँजी निर्माण गर्न नसक्ने दाबी गरे।

मन्त्री शर्माले भने, ‘वैदेशिक लगानी ल्याउन परियोजनाको तयारी र परियोजना प्रतिको विश्वास हुनुपर्छ । हाम्रो नीति,कानून र व्यवहारका कारणले विश्वास नभएको अवस्था छ । सरकारले वैदेशिक ऋण कति लिने भन्ने प्रश्न छ । ऋण लिने तर मुलुकको उत्पादन नबढाउने, हाम्रो ढुंगा बिक्री गर्न नपाउने, काठ काट्न नपाउने, हाम्रो जडिबुटी बिक्री गर्न नमिल्ने ? हाम्रो रिसोर्स प्रयोग गर्न नहुने अनि विकास गर्ने के बाट ? गर्ने कसरी ? गम्भीर प्रश्न छ।’

‘पहाड फोरेर ढुंगा चलाउनै हुन्न भने कुनै ठाउँ नचलाउने होला । एउटा पहाड खनेर बिक्री गर्न किन मिल्दैन ? काठ बिक्री गर्न नमिल्ने, अदालतले पनि ढुंगामा, जंगलमा र प्राकृतिक स्रोतका हातै लगाउन मिल्दैन भन्छ । यहाँ कसैले पनि सबै जंगल काट्ने र सबै पहाड फोड्ने कुरा गरेको छैन नि !’, मन्त्री शर्माले थपे।

त्यस्ता स्रोतबाट पुँजी निर्माण गर्न सकिने उनले बताए। उनले हेजिङबारे कुरा आफैँले उठाए पनि कर्मचारीबाट सहयोग नपाएको बताए।

‘अब हेजिङको कुरा उठेको छ । म उर्जामन्त्री हुँदा हेजिङ आवश्यक रहेको छ भन्ने लाग्यो । मैले हेजिङको विषय उठाएँ, तर अहिलेसम्म फाइनल भएको छैन । मैले राष्ट्र बैंकलाई हेजिङको विषयमा बुझाउन धेरै मेहनत गरेको छु । ब्यूरोकेसीलाई हेजिङको विषयमा बुझाउन धेरै मिहिनेत गरेको छु तर बुझ्दैनन् । हेजिङ चाहिन्छ यो देशलाई भन्दा देश बर्बाद पा¥यो मन्त्रीले भन्ने गरिन्छ । हेजिङ जलविद्युतलाई आवश्यक छ तर उसैले चाहिँदैन भन्छ । सबैभन्दा बढी उसैलाई चाहिएको छ’, उनले भने।

अहिले मुस्किलले ठूलो लडाइँ लडेर मन्त्रिपरिषद्बाट नियमावली पास भएको उनले बताए।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ