काठमाडाैं- कांग्रेस सभापतिमा शेरबहादुर देउवाले पहिलाे चरणमा ५१ प्रतिशत मत ल्याउन नसकेपछि प्रकाशमान सिंहलाई केपी ओलीको नाम लिँदै म (देउवा) सभापतिमा हारे भने उनी (ओली) सत्तामा फर्किन्छन्, विचार गर्नुस् भन्दै फकाएका छन् ।
प्रकाशमान निवास चाक्सीबारीमा आएर सम्बोधन क्रममा उनले पार्टीलाई विधान अनुसार चलाउने, सल्लाह गरेर अघि बढ्नेसहितका अनेक वाचा गरे। ‘अब म पार्टीमा एकलौटी गर्दिनँ, विधान अनुसार चल्छु, सबैसँग मिलेर अगाडि बढ्छु’, चाक्सीबारीमा देउवाको भनेका छन्, ‘हिजोका गल्तीलाई सुधारे जान सकिन्छ। त्यसैले यो पटक मलाई सघाएर जानुस्।’
देउवाले प्रकाशमानसँग पनि महाधिवेशनमा कार्यकर्तामाझ गरिरहेको भाषणलाई दोहोर्याए। ‘अब देशमा चुनाव आउँदैछ। मैले सभापतिमा हारेँ भने नैतिकताले पनि प्रधानमन्त्री भइरहन, बसिरहन मिल्दैन। मलाई सजिलो पनि हुँदैन’, उनले भने, ‘मलाई सघाएर जानु भयो भने पार्टी पनि बलियो हुन्छ। आगामी चुनावमा मिलेर जित्न पनि सकिन्छ।’
उनले प्रकाशमानलाई मनाउन एमाले अध्यक्ष केपी शर्मा ओली कार्ड पनि प्रयोग गरे। त्यही कार्ड उनले महाधिवेशन उद्घाटनका क्रममा पनि प्रयोग गर्दै आफूले हारे ओली सत्तामा आएर तानाशाही शासन चलाउने डर देखाएका थिए। उनले आफूले सभापतिमा हारेर सरकारबाट हटेमा फेरि ओली नै सत्तामा फर्किने त्रास पनि प्रकाशमानलाई देखाए।
‘मैले सभापतिमा हारेमा प्रधानमन्त्रीबाट बाहिरिने अवस्थामा आउँछ। त्यसो हुँदा संविधानको …धारा अनुसार फेरि प्रधानमन्त्रीमा केपी ओली आउँछन्’, उनले भने, ‘ओली सत्तामा आए भने चुनाव के हुन्छ? विचार गर्नुस्। म गल्ती गर्दिनँ भनेर सहमतिको बिन्दु पैल्याउन तयार छु। तर हामीले हाम्रो सत्ता टिकाउनु आजको आवश्यकता हो।’
उनले अहिलेकै सरकार टिकाएर स्वच्छ र धाँधलीरहित, निष्पक्ष निर्वाचन गर्नुपर्ने पनि बताए। ‘हामीले यो सरकार टिकाउनुपर्छ। सरकार टिकाएर स्वच्छ, धाँधलीरहित तथा निष्पक्ष निर्वाचनका लागि जुट्नुपर्छ। कांग्रेसको आवश्यकता पनि यही हो’, उनले भने, ‘मलाई सघाएपछि तपाईंलाई पनि फाइदा नै हुन्छ। म गएपछि ओली आए भने के होला, यसतर्फ ख्याल गर्नुस्।’
प्रतिक्रिया