+
Search

ताजा अपडेट +

पपुलर +

आन्दोलनले संवैधानिक अंगलाई सत्ताको दबाबमा नपरी स्वतन्त्ररुपले काम गर्ने वातावरण बनाउनेछ: नारायणकाजी श्रेष्ठ

पालिका लाइभ
२०७७ माघ ८, बिहीबार

काठमाडौं- आन्दोलनरत् नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले अहिले जारी सो पार्टीको संघर्षले संवैधानिक अंगहरुलाई स्वतन्त्रपूर्वक काम गर्ने वातावरण बनाउने बताएका छन्।

नेकपाद्वारा गठित संघर्ष समितिको संयोजक समेत रहेका श्रेष्ठले बिहीबार आयोजित पत्रकार सम्मेलनमा सो धारणा राखेका हुन्।

‘सत्ताको दबाबमा नपरी संविधानले निर्दिष्ट गरेको भूमिका स्वतन्त्रतापूर्वक निर्वाह गर्नका लागि सबै संवैधानिक अंगहरुलाई पनि यो संघर्षले उचित वातावरण निर्माण गर्नेछ,’ श्रेष्ठले भने।

उनले प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटनको घोषणा गरेपछि सो असंवैधानिक र प्रतिगामी कदम खारेज गराउन र प्रतिनिधि सभालाई सुचारु गराउन र संविधानलाई सहि दिशामा अघि बढाउनका लागि संघर्ष सुरु गरिएको बताए।

‘यो संघर्षको कार्यक्रमलाई प्रतिनिधि सभा सुचारु नहुँदासम्म र यो घट्नासँगै जुन प्रतिगामी षडयन्त्र अघि बढाइएको छ, त्यसलाई निस्तेज नपारेसम्म संघर्ष जारी रहनेछ,’ उनले भने, ‘नेपाली जनताको दशकौंको संघर्षबाट स्थापित लोकतन्त्र र संविधानलाई रक्षा गर्न नेपाली जनता प्रतिबद्ध छन् र जनताले यी उपलब्धी उल्ट्याउन दिनेछैनन् भन्ने कुरा स्पष्ट पार्न चाहन्छौं।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ