+
Search

ताजा अपडेट +

पपुलर +

राज्य व्यवस्थाको निर्देशन : लिम्पियाधुरालाई समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गर्नू

पालिका लाइभ
२०७६ कार्तिक २५, सोमबार

काठमाडौं– संसदको राज्य व्यवस्था समितिले लिम्पियाधुरा, लिपुलेक र कापालानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिले महाकाली क्षेत्रको सीमा विवादबारे छलफल गर्न सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाएको थियो । तर उनको सट्टा भूमि व्यवस्थामन्त्री पदमा अर्याल उपस्थित थिइन् । मन्त्री अर्यालले पनि नेपालको हाल प्रयोगमा रहेको नक्सा त्रुटिपूर्ण रहेको स्वीकार गरेकी थिइन् ।

हालसम्म प्रचलनमा ल्याइएको नेपालको नक्सामा लिम्पियाधुरा, कालापानी नदीसम्मको भूभाग समावेश गरी नयाँ नक्सा जारी गर्न निर्देशन दिइएको समिति सभापति शशी श्रेष्ठले जानकारी दिइन् ।

‘नेपालको शैक्षिक सामग्रीहरूमा प्रयोगमा रहेको नेपालको नक्सामा सुधार गरी पाठ्यक्रम निर्धारण गर्नुका साथै हालसम्म प्रचलनमा रहेको ल्याइएको नक्सामा लिम्पियाधुरा र महाकाली नदीसम्मको भूभाग समावेश गरी नयाँ नक्सा तयार पार्ने’ समितिको तेस्रो नम्बर बुँदामा भनिएको छ ।

समितिले कालापानी क्षेत्रमा नेपालको सार्वभौम अधिकार कायम गर्न सरकारलाई निर्देशन दिएको छ ।

‘लिम्पियाधुरा महाकाली नदी पूर्वको भूभाग नेपालको हो भन्ने भौगोलिक र ऐतिहासिक तथ्यहरूलाई स्वीकार गर्दै उक्त क्षेत्रमा नेपालको सार्वभौम अधिकार कायम गर्न नेपाल सरकारले तत्काल उच्चस्तरीय राजनीतिक एवं कूटनीतिक पहल गर्न’, समितिको दोस्रो नम्बरको बुँदामा भनिएको छ ।

समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाइएको भएपनि स्वास्थ्यका कारण उपस्थित हुन सकेनन् ।

प्रधानमन्त्रीको तर्फबाट भूमि व्यवस्था तथा सहकारी मन्त्री पदमा अर्यालले सर्वदलीय बैठकमा भएको सहमति अनुसार सहमति कार्यान्वयनको पहल भइसकेको जानकारी दिइन् ।

‘हामीसँगका तथ्य र प्रमाणले कालापानी, लिपुकले र लिम्पियाधुरा नेपालको भएको कुरा प्रष्ट छ । प्रधानमन्त्रीले बोलाउनु भएको सर्वदलीय बैठकमा भएको सहमति कार्यान्वयन शुरू भइसकेको छ,’ मन्त्री अर्यालले भनिन्, ‘भारतबाट समस्या समाधानका लागि सकारात्मक संकेत प्राप्त भएको छ ।’

बैठकमा समिति सदस्यहरूले उच्च राजनीतिक स्तरबाटै समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ