+
Search

ताजा अपडेट +

पपुलर +

आरुबोटमा ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ अभियान, ५० लाख लागतमा सामुदायिक भवन निर्माण

पालिका लाइभ
२०७५ माघ २८, सोमबार

गोरखा- स्थानीय युवाहरूको सक्रिय पहल र स्वदेश तथा विदेशमा रहेका गाउँलेहरूको सहयोगमा सिरानचोक गाउँपालिका–७ श्रीनाथकोटस्थित आरुबोटमा सुविधा सम्पन्न सामुदायिक भवन निर्माण गरिएको छ।

‘आफ्नो गाउँ आफैँ बनाऔँ’ भन्ने मूल मन्त्रका साथ सञ्चालन गरिएको अभियानअन्तर्गत करिब ५० लाख रुपैयाँको लागतमा सामुदायिक भवन निर्माण गरिएको स्थानीय ज्ञानराज गुरुङले जानकारी दिए।

उनका अनुसार भवनमा एकैपटक करिब ४ सय जना अट्न सक्ने क्षमता रहेको छ भने कार्यक्रम सञ्चालनका लागि स्टेजको समेत व्यवस्था गरिएको छ।

भवनभित्र बाल क्लब तथा समुदायका लागि छुट्टाछुट्टै कार्यालय कक्ष, भान्सा कोठा, राइस मिल र स्टोर रुमसमेत निर्माण गरिएको छ।

भवन निर्माणका लागि आवश्यक रकम काठमाडौं, पोखरा, चितवन, गोरखा लगायत विभिन्न स्थानमा बसोबास गर्दै आएका आरुबोटवासी तथा स्थानीय घरधुरीहरूबाट चन्दा संकलन गरेर जुटाइएको थियो।

चन्दा संकलनपछि स्थानीयवासीहरूले करिब १५ दिनसम्म श्रमदान गरी ‘खोला आरुबोट सामुदायिक भवन’ निर्माण सम्पन्न गरेका हुन्। स्थानीयको सहयोगबाट करिब ५० लाख रुपैयाँ बराबरको रकम संकलन भएको थियो।

स्थानीयवासीले सामूहिक प्रयास र एकताको उदाहरण प्रस्तुत गर्दै निर्माण गरेको सामुदायिक भवनले गाउँका सामाजिक, सांस्कृतिक तथा सामुदायिक गतिविधि सञ्चालनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ