+
Search

ताजा अपडेट +

पपुलर +

द्वन्द्वकालमा ध्वस्त भएको बुङकोट प्रहरी चौकी पुनर्निर्माणपछि सञ्चालनमा

पालिका लाइभ
२०७५ माघ १८, शुक्रबार

गोरखा- सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन माओवादीको आक्रमणबाट ध्वस्त भएको गोरखाको बुङकोटस्थित प्रहरी चौकी पुनर्निर्माण सम्पन्न भएपछि औपचारिक रूपमा उद्घाटन गरिएको छ।

शहिद लखन गाउँपालिका–७, बुङकोटका स्थानीय नागरिकलाई प्रभावकारी शान्ति सुरक्षा सेवा प्रदान गर्ने उद्देश्यले पुनर्निर्माण गरिएको प्रहरी चौकी भवन एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो।

द्वन्द्वकालमा बम विस्फोट गरी ध्वस्त बनाइएको उक्त प्रहरी चौकी शान्ति स्थापनापछि पुनःस्थापना गरिएको थियो। भवन निर्माण सम्पन्न नहुँदासम्म प्रहरीले अस्थायी क्याम्पबाट सेवा प्रवाह गर्दै आएको थियो।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कोषबाट १ करोड ४४ लाख ८९ हजार रुपैयाँ लागतमा निर्माण गरिएको भवनको उद्घाटन गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक दानसिंह बोहराले गरेका हुन्।

उद्घाटन कार्यक्रममा बोल्दै प्रहरी नायव महानिरीक्षक बोहराले नागरिकको सुरक्षालाई केन्द्रमा राखेर प्रभावकारी रूपमा सेवा प्रवाह गर्न मातहतका प्रहरी निकायलाई निर्देशन दिए।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सहयोगमा आधुनिक सुविधासम्पन्न भवन निर्माण सम्पन्न भएको हो।

नवनिर्मित भवनमा कार्यालय प्रमुखको निवास, हिरासत कक्ष, महिला तथा पुरुष ब्यारेक, किचन, डाइनिङ हल, प्रशासनिक कक्ष तथा सञ्चार कक्षलगायतका आवश्यक संरचना निर्माण गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ