+
Search

ताजा अपडेट +

पपुलर +

बागमतीका मेयर भरत थापाविरुद्द अकुत सम्पत्ति आर्जनको मुद्दा दर्ता

पालिका लाइभ
२०८० चैत्र २८, बुधबार

सर्लाही– बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ करोड ३३ लाख रुपैयाँ अवैधानिक तरिकाले कमाएको दाबी गर्दै बुधबार थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

थापाले २०७४ असोजदेखि २०७९ माघसम्मको अवधिमा ७ करोड ८६ लाख ५० हजार वैध तरिकाले कुल आम्दानी गरेको र यही अवधिमा १३ करोड २० रुपैयाँ लगानी तथा खर्च गरेको अख्तियारले जनाएको छ ।

थापा २०७९ साल वैशाख ३१ गतेको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट दोस्रो कार्यकालका लागि बागमती नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए।

कुल आय तथा लगानी र खर्चबीचको तादाम्यता नमिलेको ५ करोड ३३ लाख ५३ हजार रुपैयाँ अवैध तरिकाले आम्दानी गरेको अख्तियारले जनाएको छ ।

अख्तियारले थापालाई सोही रकम बराबर बिगो कायम गरी जरिवाना, सजाय तथा सम्पत्ति असुलउपर गर्न माग गरेको छ ।

थापाले सार्वजनिक पदमा रहँदा अवैध रुपमा कमाएको सम्पत्ति श्रीमती रेश्मीकुमारी घिमिरे, भाइ राम थापा र बुहारी द्वारिका राउतको नाममा राखेको अख्तियारले जनाएको छ। उक्त अवैध सम्पत्ति जफतका लागि उनीहरू तीनैजनालाई पनि प्रतिवादी बनाएर मुद्दा चलाइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरले बताएका छन्।

सम्पत्ति जफत गर्नको लागि उनीहरूलाई पनि प्रतिवादी बनाइएको छ ।

मेयर थापाले बागमती नदी किनारमा भरत ताल बनाएर चर्चा कमाएका थिए। उक्त तालको नाम पनि उनले आफ्नै नाममा राखेका थिए। अहिले उक्त कृत्रिम तालमा बिदा मनाउन र घुम्न जानेको भिड लाग्ने गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ