+
Search

ताजा अपडेट +

पपुलर +

बाबुरामले भने- जात र गोत्र त फेरिन्छ, पुरानै पार्टीमा बस्नुपर्छ भन्ने छैन

पालिका लाइभ
२०७८ कार्तिक २३, मंगलवार

गोरखा– पूर्वप्रधानमन्त्री एवं जनता समाजवादव् पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफू भोट माग्न नभइ जनताको वास्तविकता बुझ्न र समस्या समाधानको पहल गर्न घर-घरमा आएको बताएका छन् ।

जसपाको पार्टी संगठन सुदृढीकरण तथा जनपरिचालन (सुज) अभियान अन्तरर्गत जिल्लाकाे शहिद लखन गाउँपालिकामा रहेका भट्टराईले यस्ताे बताएका हुन् ।

‘पुराना पार्टीबाट देशको विकास र समृद्धि सम्भव छैन । विकासको लागि सबैभन्दा पहिले राजनीति ठीक ठाउँमा आउनुपर्छ,’ भेटघाटको क्रममा उनले भने, ’जात र गोत्र त परिवर्तन हुन्छ । विकासको लागि पुरानै पार्टीमा बस्नुपर्छ भन्ने छैन । हाम्रो सोच बदल्न जरुरी छ ।’

अहिलेको राजनीतिक पार्टी र नेतृत्वले देशको विकास हुन नसक्ने उनको दाबी छ । तत्कालीन एमाले र माओवादी मिलेर बनेको नेकपा (नेकपा) विभाजनलाई उदाहरण दिएर भट्टराईले पुरानो पार्टीबाट अब विकास र समृद्धि सम्भव नहुने विश्लेषण गरे । भट्टराई नेकपा माओवादी केन्द्रबाट, नयाँ शक्ति हुँदै अहिले जसपामा छन् ।

दुई-दुई पटक विघटन भएर संसदले पुनर्जीवन पाएसँगै तत्कालको लागि प्रतिगमनको खतरा टरेको उनको भनाइ छ । तर, राजनीतिक अस्थिरता, हरेक पार्टीभित्रको बेथिति, देश र राजनीतिको कथा व्यथा भने उस्तै रहेको बताएका छन् ।

नेता भट्टराईले दुई महिनाभित्रै बूढीगण्डकीको मोडालिटीबारे टुंगो लाग्ने बताएका छन् । आठ वर्ष बितिसक्दा पनि आयोजनाको मोडालिटीमै अल्झँदा आफू दुखी भएको उनले सुनाए । अस्थिर सरकारको कारण बुढीगण्डकीको यो हालत भएको उनको तर्क थियो ।

उनले उत्तरी गाेरखाकाे चुमनुव्री गाउँपालिकाबाहेकका अन्य सबै स्थानीय तहमा घरदैलो गर्ने कार्यक्रम रहेकाे छ । सोमबारदेखि सुरू भएको अभियान मंसिर ३ सम्म संचालन हुने बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ