गोरखा- गोरखा क्याम्पसमा अध्ययनरत छात्राहरूको आवासीय सुविधाका लागि निर्माण गरिएको छात्रावास भवन प्रयोगविहीन बनेपछि त्यहाँ शिक्षक तथा कर्मचारी बस्न थालेका छन्।
जिल्लाको एकमात्र सरकारी क्याम्पस गोरखामा अध्ययनरत छात्राहरूलाई लक्षित गरी निर्माण गरिएको छात्रावासमा विद्यार्थीको आकर्षण नबढेपछि भवन शिक्षक र कर्मचारीको आवासका रूपमा प्रयोग हुँदै आएको हो।
तत्कालीन अर्थमन्त्री डा. बाबुराम भट्टराईले २०६५ सालमा छात्रावास निर्माणका लागि एक करोड रुपैयाँ विनियोजन गरेका थिए। उक्त रकमबाट २०६६/६७ सालमा २८ कोठे भवन निर्माण गरिएको थियो।
क्याम्पसका तत्कालीन प्रमुख रामशरण बानियाँका अनुसार २०६८ सालमा पहिलो पटक छात्रावासमा बस्न इच्छुक छात्राका लागि आवेदन आह्वान गरिएको थियो। तर, एक जना छात्राले मात्र आवेदन दिएकी थिइन् र केही समयपछि विवाहपछि उनी पनि छात्रावास छाडेर गएकी थिइन्। त्यसयता हरेक वर्ष आवेदन माग गरिए पनि छात्रावासमा बस्न इच्छुक विद्यार्थी नपाइएको उनले बताए।
क्याम्पस प्रशासनका अनुसार पटक–पटक सूचना जारी गर्दा पनि छात्रावासमा बस्नका लागि कुनै छात्राले निवेदन नदिएपछि भवन लामो समय प्रयोगविहीन बनेको थियो।
झण्डै तीन वर्ष खाली रहेको भवन २०७० सालदेखि शिक्षक तथा कर्मचारीको आवासका रूपमा प्रयोग हुन थालेको हो। हाल १२ वटा कोठामा शिक्षक र कर्मचारी बस्दै आएका छन्।
क्याम्पस प्रमुख विकासकुमार श्रेष्ठले छात्राहरूलाई छात्रावासमा बस्न प्रोत्साहन गर्न पटक–पटक आग्रह गरिए पनि सकारात्मक प्रतिक्रिया नआएको बताए।
‘छात्राहरूका लागि निर्माण गरिएको भवनमा सकेसम्म छात्रा नै बसून् भन्ने हाम्रो चाहना हो। कक्षा–कक्षामा पुगेर पनि जानकारी गराइरहेका छौं, तर बस्न इच्छुक कोही देखिएका छैनन्,’ उनले भने।
प्रयोगमा नआएको छात्रावास भवनलाई भविष्यमा स्नातकोत्तर तहका कक्षाहरू सञ्चालन गर्ने उद्देश्यले उपयोग गर्ने तयारीसमेत क्याम्पसले गरेको छ।
हाल क्याम्पसमा ६ सय ६८ जना विद्यार्थी अध्ययनरत छन्। तीमध्ये अधिकांश विद्यार्थी बारपाक सुलिकोट, चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिकाका रहेका छन्।
क्याम्पसका अनुसार कुल विद्यार्थीमध्ये ४९३ जना (झण्डै ७४ प्रतिशत) छात्रा र १७५ जना (झण्डै २६ प्रतिशत) छात्र रहेका छन्।
प्रतिक्रिया