+
Search

ताजा अपडेट +

पपुलर +

स्थानीय निर्वाचनको तयारीमा रास्वपा, उम्मेदवार छनोट रूपरेखा अनुमोदनदेखि ‘राइट टु रिकल’ समिति गठन

पालिका लाइभ
२०८३ भाद्र ६, शनिबार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय निर्वाचनको तयारीलाई तीव्रता दिँदै उम्मेदवार छनोटसम्बन्धी रूपरेखा अनुमोदन गर्ने निर्णय गरेको छ।

पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा तयार गरिएको ‘उम्मेदवार छनोट रूपरेखा–२०८३’ लाई बैठकमा प्राप्त सुझावसमेत समेटेर अनुमोदन गर्ने निर्णय गरेको हो।

बैठकले स्थानीय निर्वाचनका लागि गठन हुने केन्द्रीय उम्मेदवार छनोट समितिमा सदस्य बन्न इच्छुक केन्द्रीय समिति सदस्य तथा प्रतिनिधिसभा सदस्यहरूबाट नामावली माग गर्ने निर्णयसमेत गरेको छ। त्यस्तै, ‘राइट टु रिकल’ सम्बन्धी दस्ताबेज तयार गर्न महामन्त्री आचार्यको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गर्ने निर्णय भएको छ।

रास्वपाले स्थानीय निर्वाचनको उम्मेदवार छनोट रूपरेखालगायत विषयमा ४६० गाउँपालिकामा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ। त्यसका लागि केन्द्रीय समिति सदस्य तथा प्रतिनिधिसभा सदस्यहरूलाई परिचालन गर्ने निर्णय बैठकले गरेको छ। कार्यक्रमको संयोजन सहमहामन्त्री निशा डाँगीले गर्नेछिन्।

बैठकले आगामी असोजदेखि ‘स्वतन्त्र’ नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने निर्णयसमेत गरेको छ।

मधेशमा जिल्ला तथा प्रदेश अधिवेशन सुरु गर्नुअघि संगठनको अडिट गर्न सहमहामन्त्री हरि ढकालको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गर्ने निर्णय पनि भएको छ। उक्त समितिमा मधेशबाहेकका प्रदेशका केन्द्रीय समिति सदस्यहरू रहने महामन्त्री आचार्यले जानकारी दिए।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ