+
Search

ताजा अपडेट +

पपुलर +

सरकारी कार्यालयमा सतर्कता केन्द्रको छड्के अनुगमन, पाँच महिनामा ११ हजारभन्दा बढी कर्मचारी कारबाहीमा

पालिका लाइभ
२०८३ भाद्र ४, बिहीबार

काठमाडौं– सरकारी कार्यालयमा कर्मचारीको अनुपस्थिति, कार्यालय समयको पालना नगर्ने र आचारसंहिता उल्लंघन गर्ने प्रवृत्तिमाथि राष्ट्रिय सतर्कता केन्द्रले निगरानी बढाएको छ। केन्द्रको अनुगमनका क्रममा पछिल्लो पाँच महिनामा मात्रै ११ हजार ४ जना कर्मचारी कारबाहीको दायरामा परेका छन्।

गत चैतदेखि साउनसम्म केन्द्रले ९२४ वटा सरकारी कार्यालयको अनुगमन गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। अघिल्लो अवधिको तुलनामा अनुगमन गरिएका कार्यालयको संख्या झन्डै तीन गुणाले बढाइएको हो।

अनुगमनका क्रममा कार्यालय समय तथा आचारसंहिता पालना नगर्ने १० हजार २६८ जना कर्मचारी भेटिएका छन्। त्यस्तै, तोकिएको पोशाक नलगाई कार्यालयमा उपस्थित हुने ६४५ जना र आफ्नो कार्यकक्षमा नभेटिएका ९१ जना कर्मचारीमाथि कारबाहीका लागि सम्बन्धित निकायलाई निर्देशन दिइएको केन्द्रले जनाएको छ।

यसरी कार्यालय अनुशासन र जिम्मेवारी उल्लंघन गर्ने कुल ११ हजार ४ जना कर्मचारीमाथि प्रचलित कानुनअनुसार कारबाही गर्न सम्बन्धित कार्यालय तथा निकायलाई निर्देशन दिइएको हो।

सरकारी सेवा प्रवाहलाई नागरिकमैत्री, जबाफदेही र अनुशासित बनाउने उद्देश्यले अनुगमनलाई प्रभावकारी बनाइएको केन्द्रको भनाइ छ। प्रधानमन्त्री बालेन शाहको निर्देशनपछि सरकारी कार्यालयमा हुने ढिलासुस्ती, कर्मचारीको अनुपस्थिति तथा कार्यालय अनुशासन उल्लंघनविरुद्ध अनुगमनलाई व्यापक बनाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

यस अवधिमा सतर्कता केन्द्रमा १ हजार २९८ वटा उजुरी दर्ता भएका छन्। तीमध्ये १ हजार ११४ वटा उजुरी फर्छ्योट गरिएको छ। यो कुल उजुरीको ८५.८२ प्रतिशत हो।

आर्थिक वर्ष २०८१/८२ को चैतदेखि साउनसम्म केन्द्रमा ५५६ वटा उजुरी दर्ता भएका थिए। त्यसमध्ये ४१२ वटा अर्थात् ७४.१० प्रतिशत उजुरी फर्छ्योट भएका थिए। पछिल्लो एक वर्षमा उजुरी दर्ता संख्या दोब्बरभन्दा बढी पुगेको छ भने फर्छ्योट दर ११.७२ प्रतिशत विन्दुले बढेको केन्द्रको तथ्यांकले देखाउँछ।

ठूलो संख्यामा कर्मचारी अनुशासन उल्लंघनमा परेको तथ्यले सरकारी कार्यालयमा कर्मचारीको नियमित उपस्थिति, कार्यालय समयको पालना र सेवा प्रवाहको गुणस्तरमा अझै सुधार आवश्यक रहेको देखाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ