+
Search

ताजा अपडेट +

पपुलर +

२० पालिकामा ६० लाख डलरको स्वास्थ्य तथा लैङ्गिक हिंसा प्रतिकार्य कार्यक्रम

पालिका लाइभ
२०८३ भाद्र ३, बुधबार

काठमाडौं– नेपालमा स्वास्थ्य सेवा र लैङ्गिक हिंसा प्रतिकार्य सुदृढ गर्न ६० लाख अमेरिकी डलरको प्रतिबद्धतासहित नयाँ संयुक्त कार्यक्रमको सुरुआत गरिएको छ।

नेपालका लागि नर्वेली राजदूतावास र स्विस सरकार विकास सहयोग (एसडीसी) को आर्थिक सहयोगमा यूएनएफपीए र विश्व स्वास्थ्य संगठनले महिला, बालिका, किशोर किशोरी तथा सीमान्तकृत समुदायको अधिकार, स्वास्थ्य र कल्याण प्रवर्धन गर्ने लक्ष्यका साथ यो पहल सुरु गरेका हुन्।

‘एकीकृत यौन तथा प्रजनन स्वास्थ्य र अधिकार एवं लैङ्गिक हिंसा सेवाका लागि प्रणाली सुदृढीकरण’ नामक यो दुई वर्षे कार्यक्रम कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका २० पालिकामा कार्यान्वयन हुनेछ।

यस पहलले संघ, प्रदेश र स्थानीय तहको गुणस्तरीय यौन तथा प्रजनन स्वास्थ्य एवं लैङ्गिक हिंसा प्रभावितलाई दिइने सेवा प्रवाहको क्षमता सुदृढ गर्नेछ। नर्वेको राजकीय दूतावासका हेड अफ कोअपरेसन तथा डेपुटी हेड अफ मिसन बोर्ड हेल्डेले नर्वे लैङ्गिक समानताको प्रवर्धनप्रति प्रतिबद्ध रहेको बताए।

हरेक व्यक्तिले विभेदबिना गुणस्तरीय सेवा पाउन् र हिंसामुक्त जीवन बिताउन सकुन् भन्ने उद्देश्यमा नेपालमा दीर्घकालीन लगानी निरन्तर राख्न पाउँदा खुसी लागेको उनले उल्लेख गरे।

स्विट्जरल्यान्ड दूतावासका चार्ज द अफेयर्स ए.आई. म्याथियास मायरले भने, ‘गुणस्तरीय सेवा आवश्यक पर्ने सबैका लागि उपलब्ध हुनुपर्छ। प्रणाली सुदृढ गर्न र यी अत्यावश्यक सेवा नेपालभरका समुदायसम्म निरन्तर पुर्‍याउन स्विट्जरल्यान्ड प्रतिबद्ध छ।’

यो पहल नेपालमा एक दशकभन्दा बढी समयको विकास सहकार्यमा प्रत्यक्ष रूपमा आधारित छ। विगतका प्रयासले स्थानीय सरकारका नीति स्थापित गर्न सफलता पाएकोमा नयाँ साझेदारीले कानुन र कार्यान्वयनबीचको दूरी घटाउनेतर्फ ध्यान केन्द्रित गर्नेछ।

यूएनएफपीए नेपालका प्रतिनिधि श्रीराम हरिदासले नेपालले प्रगतिशील नीति र संरचना स्थापित गरे पनि प्रतिबद्धतालाई गुणस्तरीय सेवामा रूपान्तरण गर्नु मुख्य चुनौती रहेको बताए। यो साझेदारीले त्यही दूरी घटाउन सघाउने उनको भनाइ छ।

डब्ल्यूएचओकी कार्यवाहक प्रतिनिधि डा. एलिसन गोकोतानोले नेपाल सरकारको नेतृत्वमा स्वास्थ्य प्रणालीको क्षमता सुदृढ गर्न, क्लिनिकल मापदण्ड परिष्कृत गर्न र एकीकृत सेवा प्रवाह गर्न स्वास्थ्यकर्मीलाई सहयोग गरिने बताइन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ