+
Search

ताजा अपडेट +

पपुलर +

नेप्सेमा १ हजार अंकको गिरावट देखिएपछि अन्योल, वास्तविक कारोबार भने ७.९० अंकले बढ्यो

पालिका लाइभ
२०८३ श्रावण ८, शुक्रबार

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को वेबसाइटमा शुक्रवार कारोबार सम्पन्न भएपछि परिसूचक एकैदिन १ हजारभन्दा बढी अंकले घटेको विवरण देखिएपछि लगानीकर्ता र ब्रोकरबीच अन्योल सिर्जना भएको छ। यद्यपि, वास्तविक कारोबारमा भने नेप्से परिसूचक ७.९० अंकले बढेर २ हजार ७३४.६३ विन्दुमा बन्द भएको थियो।

नेप्सेको वेबसाइटमा प्रकाशित विवरणअनुसार परिसूचक १ हजार ८.९३ अंकले घटेर १ हजार ७१७.७९ विन्दुमा पुगेको देखिएको थियो। उक्त विवरणअनुसार बजार एकैदिन ३७ प्रतिशतले घटेको देखिए पनि प्रचलित व्यवस्थाअनुसार नेप्से परिसूचक एक कारोबार दिनमा अधिकतम ८ प्रतिशतसम्म मात्रै घटबढ हुन सक्छ। त्यसैले प्रकाशित तथ्यांकलाई प्राविधिक त्रुटिका रूपमा हेरिएको छ।

शेयर बजारका सरोकारवालाले वेबसाइटमा देखिएको तथ्यांकले प्रणालीको विश्वसनीयतामाथि प्रश्न उठाएको बताएका छन्। उनीहरूले यस्ता त्रुटिले लगानीकर्तामा अनावश्यक अन्योल सिर्जना गर्ने भएकाले नेप्सेको सूचना प्रणालीलाई थप सुरक्षित र भरपर्दो बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्।

शुक्रवार ३५३ कम्पनीका १ करोड ३७ लाख ६९ हजार कित्ता शेयर ७० हजार १५८ पटक किनबेच हुँदा कुल कारोबार रकम ६ अर्ब २६ करोड ७२ लाख रुपैयाँ पुगेको थियो। अघिल्लो दिनको तुलनामा कारोबार रकम उल्लेख्य रूपमा बढेको हो।

कारोबारमा सहभागी १३ उपसमूहमध्ये सात उपसमूहको परिसूचक बढेको थियो भने छ उपसमूह घटेका थिए। बैंकिङ उपसमूह सबैभन्दा धेरै १.१७ प्रतिशतले बढेको थियो। विकास बैंक, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, लघुवित्त र निर्जीवन बीमा उपसमूहमा पनि सामान्य वृद्धि देखिएको थियो।

नेप्से प्रणालीमा यसअघि पनि सूचक गणना तथा तथ्यांक प्रदर्शनसम्बन्धी प्राविधिक समस्या देखिँदै आएका छन्।

पछिल्लो घटनापछि लगानीकर्ता र ब्रोकरहरूले प्रणालीको विश्वसनीयता, तथ्यांकको शुद्धता तथा लगानीकर्ताको हित संरक्षण सुनिश्चित गर्न नेप्सेले तत्काल प्राविधिक सुधार गर्नुपर्ने माग गरेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ