+
Search

ताजा अपडेट +

पपुलर +

वरुण बेभरेजमा सरकारी छापा : सेभेन अपको उत्पादन र बिक्री वितरणमा रोक्न निर्देशन

पालिका लाइभ
२०८३ श्रावण ८, शुक्रबार

काठमाडौं– खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बोतलभित्र बाह्य पदार्थ भेटिएको उजुरीपछि वरुण बेभरेज (नेपाल) प्रा.लि. द्वारा उत्पादित ‘सेभेन अप’ को उत्पादन तथा बिक्री–वितरणमा तत्काल रोक लगाएको छ।

विभागको नेतृत्वमा रहेको संयुक्त अनुगमन टोलीले साउन ७ गते काठमाडौंको पेप्सीकोलास्थित उद्योगमा आकस्मिक निरीक्षण गरेपछि उक्त निर्णय गरेको हो। विभागमा परेको उजुरीमा उत्पादन मिति १६–०४–२०२६ र ब्याच नम्बर बी००६ भएको सेभेन अपको बोतलमा बाह्य पदार्थ भेटिएको उल्लेख गरिएको थियो।

अनुगमनका क्रममा उद्योगमा सोही ब्याचका दुईवटा कन्ट्रोल नमुना बोतल फेला परेका छन्। उद्योगले २५० मिलिलिटर क्षमताका सिसाका बोतलमा सेभेन अप उत्पादन गर्दै आएको विभागले जनाएको छ।

निरीक्षणका क्रममा बोतल सफा गर्ने सात चरणको प्रणाली, बोतल भर्नुअघि चार चरणको लाइट चेकिङ, त्यसपछि मेटल डिटेक्टर तथा अन्तिम लाइट इन्स्पेक्सन प्रणाली सञ्चालनमा रहेको पाइएको विभागले जनाएको छ। यद्यपि, उत्पादन तथा भण्डारण कक्षमा रहेका अन्य बोतलमा भने कुनै बाह्य पदार्थ नभेटिएको विभागको भनाइ छ।

विभागले शंकास्पद ब्याच नम्बर बी००६ का नमुना परीक्षणका लागि सङ्कलन गरेको छ। परीक्षण प्रतिवेदन नआएसम्म उक्त ब्याचको उत्पादन तथा बजारमा रहेको बिक्री–वितरण रोक्न उद्योगलाई निर्देशन दिइएको छ। साथै, यस सम्बन्धमा विभागलाई लिखित जानकारी उपलब्ध गराउन पनि उद्योगलाई भनिएको छ।

वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बालकुमारी शर्माका अनुसार खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही प्रक्रिया अघि बढाइएको हो।

अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौं, जिल्ला प्रशासन कार्यालय काठमाडौं, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग तथा प्रहरी प्रभाग काँडाघारीको संयुक्त टोली सहभागी थियो।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ