काठमाडौं– नयाँ आर्थिक वर्ष २०८३/८४ मा विशिष्ट श्रेणीका २० जनासहित झन्डै २ हजार निजामती कर्मचारीले अनिवार्य अवकाश पाउने भएका छन्।
राष्ट्रिय किताबखाना (निजामती) ले सार्वजनिक गरेको अनुमानित विवरणअनुसार चालु आर्थिक वर्षभित्र १ हजार ९८५ कर्मचारी सेवाबाट निवृत्त हुनेछन्। हाल कार्यरत ९२ हजार ५२० निजामती कर्मचारीमध्ये उमेर हद (५८ वर्ष) वा पदावधि पूरा हुने आधारमा उनीहरू अनिवार्य अवकाशमा जान लागेका हुन्।
अवकाश पाउनेमध्ये विशिष्ट श्रेणी (सचिव वा सो सरह) का २० जना, सहसचिव वा सो सरहका ८७ जना, उपसचिव वा सो सरहका २०६ जना तथा शाखा अधिकृत वा सो सरहका ३२० जना रहेका छन्।
त्यस्तै, सहायक स्तरका ७७३ जना र श्रेणीविहीन ५७९ जना कर्मचारी पनि चालु आर्थिक वर्षमा अनिवार्य अवकाशमा जाने सूचीमा छन्।
राष्ट्रिय किताबखानाको कार्यसञ्चालन दिग्दर्शन, २०७२ अनुसार अनिवार्य अवकाश हुने कर्मचारीको अनुमानित विवरण पूर्वप्रकाशन गर्नुपर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार किताबखानाले विवरण आफ्नो आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरेको जनाएको छ।
किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेलका अनुसार सार्वजनिक गरिएको विवरणमा न्यायाधीशहरूको अवकाशसम्बन्धी विवरण भने समावेश गरिएको छैन।
प्रतिक्रिया