काठमाडौं– नबिल बैंक र धुलिखेल अस्पतालबीच अत्यावश्यक स्वास्थ्य सेवा सुदृढीकरण एवम् पुनर्स्थापना सेवाका लागि रणनीतिक साझेदारीसम्बन्धी आशयपत्रमा हस्ताक्षर भएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवाली र धुलिखेल अस्पतालका प्रशासनिक निर्देशक डा. विराजमान कर्माचार्यले सोमबार उक्त पत्रमा हस्ताक्षर गरेका हुन्।
नेपालमा विशेष गरी जलनको उपचार, पुनर्स्थापनामा सहयोग र डायलासिस सेवाको पहुँच तथा गुणस्तरीय स्वास्थ्य सेवाको बढ्दो आवश्यकतालाई मनन गर्दै दुवै पक्षले यस क्षेत्रमा सहकार्य गर्ने आशयपत्रमा उल्लेख छ ।
रणनीतिक साझेदारीअन्तर्गत, नबिल बैंकले नेपालभरि जलनका बिरामीको सघन उपचार, कृत्रिम अंग जडान र डायलासिस सेवा विस्तार गर्न धुलिखेल अस्पताललाई ६ करोड रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरेको छ।
दुई पक्षबीच भएको सम्झौताअनुसार धुलिखेल अस्पतालमा १० शय्याको सघन जलन उपचार कक्ष स्थापना गरिनेछ र अस्पताल व्यवस्थापनको नेतृत्वमा अन्य प्रदेशमा पनि यस्तै सुविधा विस्तार गरिनेछ । यसका साथै बैंकले दुई वटा कृत्रिम अंग जडान तथा पुनर्स्थापना सेवा इकाइ स्थापना गर्न र डायलासिस सेवालाई थप सुदृढ बनाउन पनि सहयोग गरेको जनाएको छ ।
बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीले भने ‘हामीले स्वास्थ्य क्षेत्रमा धेरै काम गर्दै आएका छौं, सामाजिक उत्तरदायित्वअन्तर्गत काम गर्दा जहिले पनि कति जनाको जीवनमा सार्थक परिवर्तन ल्याउन सक्यौं भन्ने मानक राख्ने गर्दछौं।’
यही कारण अस्पतालसँगको यस सहकार्यद्वारा धेरैको जीवनमा परिवर्तन ल्याउने उद्देश्य राखिएको उनले बताए ।
सीईओ ज्ञवालीले यस साझेदारीमार्फत समग्र मुलुक र विशेष गरी गरिब तथा सीमान्तकृत समुदायका बिरामीहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नेमा विश्वास व्यक्त गरे।
‘नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई दायित्व नभई बैकंको समाजप्रतिको प्रतिवद्धताको रुपमा लिने गरेको छ’ उनले भने ‘धुलिखेल अस्पतालसँग जुन उद्देश्यका साथ काम सुरु गरेका छौं त्यसमा कुनै कमी हुन नदिने म प्रतिवद्धता जनाउँछु ।’
प्रतिक्रिया