+
Search

ताजा अपडेट +

पपुलर +

एसियन गेम्स क्रिकेट छनोट : ओमानलाई हराउँदै नेपाल फाइनलमा

पालिका लाइभ
२०८३ जेष्ठ २४, आईतवार

काठमाडौं- सिंगापुरमा भइरहेको एसियन गेम्स पुरुष क्रिकेट छनोटको सेमिफाइनलमा नेपालले ओमानमाथि सहज जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ ।

सिंगा ओभल ग्राउन्डमा आइतबार विहान भएको खेलमा नेपालले ओमानमाथि ८ विकेटको जित हासिल गरेको हो । ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले ९.२ ओभरमा २ विकेटको क्षतिमा पूरुा गर्‍यो ।

नेपालका लागि लोकेश बमले सर्वाधिक ४४ रन बनाएर अविजित रहे । रोहित पौडेल २१ रनमा अविजित रहे । त्यसअघि कुशल भुर्तेलले २० अनि आसिफ शेखले १ रन बनाए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले १९.४ ओभरमा अलआउट हुँदै ९४ रन बनाएको थियो। ओमानका लागि कप्तान सुफिया मेहमुदले सर्वाधिक ३८ रन बनाए। जुबेर अली अकबरले २२ रन बनाए ।

नेपालका लागि करण केसीले ३ विकेट लिए। सोमपाल कामी, सन्दीप लामिछानेले २-२ विकेट लिए। शाहब आलम, दीपेन्द्रसिंह ऐरी, कुशल मल्लले १-१ विकेट लिए।

नेपालले फाइनलमा हङकङ र मलेसियाबीचको विजेतासँग खेल्नेछ । हङकङ र मलेसियाबीच दिउँसो सवा १२ बजेदेखि खेल हुनेछ ।

नेपालसहित सेमिफाइनल पुगेका चारवटै टोली एसियन गेम्सका लागि छनोट भइसकेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ