+
Search

ताजा अपडेट +

पपुलर +

गणतन्त्र दिवस समारोहलाई प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने, राष्ट्रपतिले सम्बोधन गर्ने

फाइल तस्बिर
पालिका लाइभ
२०८३ जेष्ठ ११, सोमबार

काठमाडौं– प्रधानमन्त्री बालेन शाहले गणतन्त्र दिवसको मूल समारोहलाई सम्बोधन नगर्ने भएका छन्। यसबारे उनले राष्ट्रपति कार्यालयलाई जानकारी गराइसकेको स्रोतले जनाएको छ।

गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिन्छ। उक्त समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्षलगायत विशिष्ट व्यक्तिहरूको सहभागिता रहने परम्परा छ। समारोहलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने अभ्यास रहँदै आएको छ।

तर प्रधानमन्त्री बनेयता सार्वजनिक समारोहहरूमा कमै देखिएका बालेनले यस वर्षको गणतन्त्र दिवसको मूल समारोहमा पनि सम्बोधन नगर्ने निर्णय गरेका छन्। स्रोतका अनुसार प्रधानमन्त्रीले समारोहलाई सम्बोधन गर्न राष्ट्रपतिलाई आग्रह गर्दै पत्राचार गरेका छन्।

‘गणतन्त्र दिवसका अवसरमा टुँडिखेलमा आयोजना हुने समारोहमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने र त्यसको सट्टा राष्ट्रपतिले सम्बोधन गरिदिनुहुने व्यवस्था मिलाइदिन आग्रह गरिएको छ,’ स्रोतले भन्यो।

स्रोतका अनुसार मन्त्रिपरिषद्को निर्णयअनुसार गणतन्त्रको प्रतीक राष्ट्रपतिलाई मानिने भएकाले गणतन्त्र दिवस समारोहमा राष्ट्रपतिबाट सम्बोधन गराउन अनुरोध गरिएको पत्र राष्ट्रपति कार्यालयमा पठाइएको छ।

नेपालको संविधानको धारा ६६ मा राष्ट्रपतिको काम, कर्तव्य र अधिकार सम्बन्धी व्यवस्था गरिएको छ। सोही धाराको उपधारा (२) मा राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिस र सम्मतिमा कार्य गर्ने उल्लेख छ। यही संवैधानिक व्यवस्थाअनुसार यस वर्षको गणतन्त्र दिवस समारोहमा राष्ट्रपतिले सम्बोधन गर्ने तयारी गरिएको स्रोतले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ