काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले खेलकुद क्षेत्रको विकास र खेलाडीहरूको सम्मानका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपमा सहभागी हुन लागेको नेपाली राष्ट्रिय महिला फुटबल टीमका खेलाडीलाई आज मन्त्रालयमा बिदाइ गर्दै मन्त्री पोखरेलले सीमित स्रोतसाधनका बाबजुद खेलाडीको सम्मान र खेलकुद विकासलाई प्राथमिकता दिइने उल्लेख गरे।
मन्त्री पोखरेलले नेपाली फुटबलमा महिला फुटबल टोलीको प्रदर्शनी उत्कृष्ट रहेको तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा हासिल गरेको उपाधि प्रशंसनीय रहेको बताए।
उनले सीमित स्रोत साधनको अधिकतम सदुपयोग गरेर खेलकुद क्षेत्रको विकास र खेलाडी सम्मानलाई सरकारको तर्फबाट सकेसम्म बढाउने प्रयत्न गरिने बताए।
कार्यक्रममा मन्त्री पोखरेलले खेलाडीलाई राष्ट्रिय झन्डा र जर्सी हस्तान्तरण गरेका थिए। यही जेठ ११ गतेदेखि २४ गतेसम्म भारतको मडगाओ गोवामा साफ महिला च्याम्पियनसिप सञ्चालन हुनेछ।
नेपाली महिला फुटबल टोली जेठ ८ गते भारत प्रस्थान गर्ने र प्रतियोगिता सम्पन्नपछि जेठ २५ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।
प्रतिक्रिया