+
Search

ताजा अपडेट +

पपुलर +

गण्डकीका सबै जिल्लामा पुग्यो निर्वाचन सामग्री, मतपत्र ढुवानी सुरु

पालिका लाइभ
२०८२ फाल्गुन ९, शनिबार

पोखरा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्रबाहेक ५२ प्रकारका निर्वाचन सामग्री गण्डकी प्रदेशका सबै ११ जिल्लामा पुगेको छ ।

प्रदेश निर्वाचन कार्यालय, पोखराका अनुसार सामग्री व्यवस्थापनको काम लगभग पूरा भइसकेको छ भने मतपत्र ढुवानीको प्रक्रिया पनि सुरु गरिएको छ ।

प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्रनाथ न्यौपानेका अनुसार आज कास्की जिल्लामा मतपत्र आइपुगेको छ । उनले आइतबारदेखि कास्कीबाहेक अन्य जिल्लामा पनि मतपत्र ढुवानी सुरु हुने बताए ।

‘निर्वाचनका लागि आवश्यक ५२ प्रकारका सामग्री जिल्लामा पुगिसकेको छ । अब मतपत्रसमेत क्रमशः सबै जिल्लामा पठाइँदैछ,’ उनले भने, ‘निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालय अन्तिम तयारीमा जुटेका छन् ।’

निर्वाचनमा प्रयोग हुने ५३ प्रकारका सामग्रीमध्ये ४९ प्रकारका सामग्री मतदान स्थलमा पठाइनेछन् भने बाँकी सामग्री सम्बन्धित कार्यालयमा प्रयोग गरिनेछ । मतपेटिका, मतदान गोप्य कक्षका सामग्री, छाप, रजिस्टर, मसीलगायतका सामग्री सुरक्षित रूपमा जिल्लागत रूपमा पठाइएको कार्यालयले जनाएको छ ।

सामग्री व्यवस्थापनसँगै निर्वाचनमा खटिने कर्मचारीको व्यवस्थापन पनि तीव्र पारिएको छ । गण्डकी प्रदेशमा यस पटक १४ हजारभन्दा बढी कर्मचारी परिचालन गरिने भएको छ । मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायतका कर्मचारीलाई आवश्यक तालिम दिएर सम्बन्धित मतदान केन्द्रमा खटाइने सूचना अधिकारी न्यौपानेले बताए ।

प्रदेशभर एक हजार २९७ मतदान स्थल र दुई हजार ३९६ मतदान केन्द्र तोकिएका छन् । यस प्रदेशमा कुल मतदाता सङ्ख्या १८ लाख ७० हजार ६५ पुगेको छ ।

२०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा १६ लाख ६२ हजार २४६ मतदाता रहेका थिए । यस पटकको निर्वाचनमा दुई लाख सात हजार ८१९ नयाँ मतदाता थपिएका छन् । मतदाता सङ्ख्यामा भएको वृद्धिले निर्वाचन व्यवस्थापनलाई थप संवेदनशील र चुनौतीपूर्ण बनाएको निर्वाचन कार्यालयले जनाएको छ ।

गण्डकी प्रदेशमा कुल १८ प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन् । सामग्री ढुवानी, कर्मचारी परिचालन र मतदाता शिक्षा कार्यक्रमलाई प्राथमिकतामा राखेर तयारी तीव्र बनाइएको कार्यालयको भनाइ छ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउन सबै संयन्त्र परिचालन गरिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ