+
Search

ताजा अपडेट +

पपुलर +

एनआईसी एसिया बैंकका अध्यक्ष तुलसीराम अग्रवालले किन दिए राजीनामा?

पालिका लाइभ
२०८२ पुष ६, आईतवार

काठमाडौं– एनआईसी एसिया बैंकका अध्यक्ष तुलसीराम अग्रवालले पदबाट राजीनामा दिएका छन्। उनले व्यक्तिगत कारण देखाउँदै पुस ६ गते अध्यक्ष पदबाट राजीनामा बुझाएका हुन्। सोही दिन बसेको बैंक सञ्चालक समितिको बैठकले उनको राजीनामा औपचारिक रूपमा स्वीकृत गरेको छ।

अग्रवाल २०७८ साल चैतमा सम्पन्न बैंकको २४औँ वार्षिक साधारणसभाबाट अध्यक्षमा नियुक्त भएका थिए। उनको कार्यकालका दौरान बैंक विभिन्न कारणले नियामक निकायको निगरानी र सार्वजनिक चर्चामा रहँदै आएको थियो।

यसैबीच नेपाल राष्ट्र बैंकले एनआईसी एसिया बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन न्यौपाने र अध्यक्ष अग्रवाललाई बैंकिङ नियम उल्लङ्घनको आरोपमा जनही दुई–दुई लाख रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको थियो। सो सम्बन्धी पत्र बैंकका प्रतिनिधिले पुस ४ गते प्राप्त गरेका थिए।

राष्ट्र बैंकको उक्त कारबाहीपछि बैंकभित्र नेतृत्व तहमा तनाव बढेको बताइन्छ।

स्रोतका अनुसार जरिवानासम्बन्धी पत्र प्राप्त भएपछि अध्यक्ष अग्रवालले नैतिक तथा व्यक्तिगत कारण देखाउँदै पदबाट अलग हुने निर्णय गरेका हुन्। त्यसपछि सञ्चालक समितिले उनको राजीनामालाई औपचारिक रूपमा स्वीकृति दिएको हो।

यस घटनाले बैंकको नेतृत्व संरचना मात्र होइन, नियामक निकायसँगको सम्बन्धलाई पनि थप चर्चामा ल्याएको छ। बैंकभित्र आन्तरिक पुनर्संरचना र नेतृत्व व्यवस्थापनबारे छलफल तीव्र बनेको बताइन्छ।

बैंकका अधिकारीहरूका अनुसार अब राष्ट्र बैंकको निर्देशनअनुसार नयाँ अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाइने तयारी सुरु गरिएको छ।

व्यावसायिक घराना विशाल समूहको नेतृत्व गर्दै आएका अग्रवाल बैंकको बोर्डमा प्रभावशाली हुन्। उनले बैंकको रणनीतिक दिशा, नीतिगत निर्णयहरू र दीर्घकालीन लक्ष्यहरू निर्धारण गर्ने भूमिकामा काम गर्दै आएका थिए।

अध्यक्ष पदबाट उनको राजीनामाले बैंकको बोर्डमा परिवर्तनको संकेत गरेको छ। बैंक सञ्चालक समितिमा त्रिलोकचन्द अग्रवाल, रामचन्द्र संघई, केशवप्रसाद लम्साल, गणेशमान श्रेष्ठ र आदित्यकुमार अग्रवाल छन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ