+
Search

ताजा अपडेट +

पपुलर +

रोसिङटनको शतकमा पोखराको दोस्रो जित, पाँचौं हारसँगै प्लेअफ दौडबाट बाहिरियो कर्णाली

पालिका लाइभ
२०८२ मंसिर १६, मंगलवार

काठमाडौं– पाँचौं हारसँगै कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को प्लेअफ दौडमा बाहिरिएको छ ।

मंगलबार भएको आफ्नो छैटौं खेलमा पोखरा एभेन्जर्ससँग ३४ रनले पराजित हुँदै कर्णाली प्लेअफ दौडबाट बाहिरिएको हो । ६ खेलमा एक खेलमा मात्रै जित निकालेको कर्णाली प्लेअफबाट बाहिरिने पहिलो टोली बनेको छ ।

पाँचौं खेलमा दोस्रो जित निकालेको पोखराले प्लेअफको सम्भावना कायमै राखेको छ । पोखरा एभेन्जर्सले दिएको २०२ रनको लक्ष्य पछ्याएको कर्णाली १९ ओभरमा १६७ रनमा समेटियो ।

कर्णालीका लागि ओपनर मार्क वाटले सर्वाधिक ५९ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन । ओपनर प्रियांक पञ्चाल १६, जयकिशान कोल्शावाला ६, पवन सर्राफ १९, नजिबुल्लाह जद्रान २४, गुल्सन झा ९, कप्तान सोमपाल कामी १३, दीपेन्द्र रावत १०, विपिन शर्मा ० र युनिष सिंह ठकुरी एक रनमा आउट भए । नन्दन यादव ३ रनमा अविजित रहे ।

बलिङमा पोखराका ऋषि धमला र धनन्जय लक्षनले ३–३ विकेट लिए । किरण ठगुन्ना, सन्दीप क्षेत्री र कप्तान कुशल भुर्तेलले एकएक विकेट लिए ।

त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा २ विकेट गुमाउदै २०१ रन बनाएको थियो ।

पोखराका लागि ओपनर एडम रोसिङटनले शतक प्रहार गरे । एडम ५८ बलमा १०८ रनमा अविजित रहे । जेसोन रोय ४६ र कप्तान कुशल भुर्तेल १८ रनमा आउट भए धनन्जय लक्षन २३ रनमा अविजित रहे । बलिङमा कर्णालीका मार्क वाट र गुल्सन झाले एकएक विकेट लिए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ