+
Search

ताजा अपडेट +

पपुलर +

बाबुराम, जनार्दन र सन्तोष परियारले आज पार्टी एकता घोषणा गर्दै

सन्तोष परियारले गर्नेछन् एकता घोषणा सभाको अध्यक्षता, बाबुराम-जनार्दन नरहने

पालिका लाइभ
२०८२ मंसिर ७, आईतवार

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टीले समावेशी संरचनामा ‘अध्यक्ष परिषद्’ गठन गर्ने तयारी गरेको छ।

दलित, महिला, आदिवासी जनजाति, मधेशी, पिछडिएको क्षेत्रलगायत सबै क्लस्टरबाट प्रतिनिधित्व हुने गरी ६–७ सदस्यीय परिषद् गठन गरिने र यही परिषद्ले पार्टीको कार्यकारी भूमिका निर्वाह गर्ने नेताहरूले बताएका छन्।

रास्वपा त्यागेर प्रगतिशील अभियानमा आएको सन्तोष परियारका अनुसार अध्यक्ष परिषद्का तीन नाम टुंगो लागिसकेको छ र यसको औपचारिक घोषणा आज हुने एकता घोषणा सभामार्फत गरिनेछ।

आज राष्ट्रिय सभागृहमा प्रगतिशील लोकतान्त्रिक पार्टी, जसपा (नयाँ शक्ति), रास्वपाबाट आएको परियार नेतृत्वको टोलीलगायत समूहबीच एकता घोषणा सभा हुँदैछ। सभा दिउँसो साढे १२ बजे सुरु हुनेछ।

सभाको अध्यक्षता सन्तोष परियारले गर्नेछन् भने कार्यक्रम सञ्चालन दुर्गा सोबले, स्वागत मन्तव्य सुदन किराँतीले राख्नेछन्। डा. बाबुराम भट्टराई र जनार्दन शर्मा कार्यक्रममा सहभागी हुने भए पनि उनीहरूले शुभकामना मन्तव्य मात्र दिने कार्यक्रम तय गरिएको छ। सभामार्फत नयाँ पार्टीको नीति, कार्यक्रम र नेतृत्वबारे जानकारी सार्वजनिक गरिने भएको छ।

एकतापछि पनि पार्टीको नाम प्रगतिशील लोकतान्त्रिक पार्टी नै रहने सहमति जुटेको छ। केन्द्रीय समिति १५१ सदस्यभन्दा ठुलो नबनाउने निर्णयसमेत गरिएको एक नेताले जानकारी दिए।

स्रोतका अनुसार डा. बाबुराम भट्टराई कार्यकारी भूमिकामा नबस्ने र संरक्षकको रूपमा रहनेछन्।

शर्मा पनि कार्यकारी भूमिकामा नजाने सहमति बनेको छ। शर्मा माओवादी केन्द्रले अनुकूलन नगरेको भन्दै अल्गिएर प्रगतिशील लोकतान्त्रिक पार्टीको पहलकर्ता बनेका थिए। पार्टी निर्वाचन आयोगमा दर्ता भइसकेको छ र यसको चुनाव चिह्न तीन पात भएको बिरुवा रहेको छ।

एकता घोषणा सभाअघि त्रिपुरेश्वरमा आयोजित भेलामा पूर्व माओवादी केन्द्रीय सदस्यहरूलाई सम्बोधन गर्दै शर्माले चुनाव नजिकिएकाले प्रगतिशील अभियानलाई पार्टीमा रूपान्तरण गर्नु परेको बताए।

उनले नयाँ पार्टी र चुनाव चिह्न प्रचार गर्दै निर्वाचन तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिए। भेलामा करिब डेढ सय जना सहभागी भएको बताइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ